Technology Khabar २१ कार्तिक २०८१, बुधबार
काठमाडौं ।
पछिल्लो महिनामा एप्पलले आईओएस १८.१ सार्वजनिक गर्यो जसमा पहिलोपटक एप्पल इन्टेलिजेन्सका विशेषताहरू समावेश गरिएका छन्। तर अझै धेरै नयाँ विशेषताहरू आउन बाँकी छन्। आईओएस १८.१ मा गत जुन महिनामा घोषणा गरिएका सबै कुराहरूको एक सानो भाग मात्र समावेश गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
ब्लूमबर्गका मार्क गर्मनका अनुसार अर्को एआई विशेषताहरूको सेट आईओएस १८.२ मा डिसेम्बरको सुरुमा उपलब्ध हनेछ। यस अपडेटसँगै तपाईंलाई च्याटजीपीटी इन्टिग्रेशन, इमेज प्लेग्राउण्ड एप र जेनमोजी प्राप्त हुनेछ। यो अपडेट डिसेम्बर २ को हप्ता सार्वजनिक गर्ने योजना बनाइएको छ जुन अपेक्षा गरेभन्दा धेरै चाँडै हो।
आईओएस १८.२ ले अमेरिकी संस्करणबाहेक अन्य प्रकारका अंग्रेजी भाषाहरूमा पनि एआई विशेषताहरू प्रदान गर्नेछ। त्यसपछि अर्को एआई विशेषताहरूको सेट आईओएस १८.४ मा अप्रिलमा सार्वजनिक हुनेछ। त्यतिबेला सिरीलाई प्रमुख सुधारहरू प्राप्त हुनेछ जसले यसलाई तपाईंको सबै डेटा पहुँच गर्न र तपाईंको स्क्रिनमा भएका जानकारीहरू प्रयोग गरी प्रश्नहरूको उत्तर दिन सक्षम बनाउनेछ।
यसबाहेक अप्रिलमा नै ईयूका आईफोन र आईप्याड प्रयोगकर्ताहरूले पहिलोपटक एप्पल इन्टेलिजेन्सको अनुभव प्राप्त गर्ने जनाइएको छ।
प्रकाशित: २१ कार्तिक २०८१, बुधबार