Technology Khabar १९ कार्तिक २०८१, सोमबार
काठमाडौं ।
एप्पलले विशेष रूपमा २०२३ अप्रिल १० देखि २०२४ अप्रिल २८ बीच बिक्री भएका आईफोन १४ प्लस उपकरणहरूको लागि नयाँ सेवा कार्यक्रम सुरू गरेको छ। रिपोर्ट अनुसार “एकदम सानो प्रतिशत” उपकरणहरू मात्र प्रभावित भएका छन् जुन राम्रो खबर भएको एप्पलको बुझाई छ। समस्या स्पष्ट छ – फोनले पछाडिको क्यामेरा प्रिभ्यू देखाउँदैन।
स्पष्ट रूपमा भन्नुपर्दा यो समस्या आईफोन १४, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा नभई केवल आईफोन १४ प्लसमा मात्र देखिएको जीएसएमएरिनाले उल्लेख गरेको छ। आफ्नो फोन प्रभावित दायरामा पर्छ कि पर्दैन भनेर जाँच गर्न एप्पलको पेजमा गएर आफ्नो फोनको सिरियल नम्बर प्रविष्ट गर्न सकिने जनाइएको छ।
यो कार्यक्रमले खरीदको मितिबाट तीन वर्षसम्मका लागि आइफोनहरू समेट्छ। यो अवधिभित्र, फोनमा अरू कुनै प्रकारको क्षति नभएको अवस्थामा एप्पलले समस्या निःशुल्क मर्मत गर्नेछ। यदि तपाईंले पहिले नै यो समस्या मर्मत गराउनुभएको छ भने, तपाईंले रिफन्डको लागि अनुरोध गर्न सक्नुहुन्छ। यद्यपि, मर्मत एप्पलको स्वीकृत सेवा प्रदायकले नै गरेको हुनुपर्छ भन्ने अनुमान गरिन्छ।
जीएसएमएरिनाका अनुसार यदि तपाईंको फोनले यी मापदण्डहरू पूरा गर्छ भने, एप्पलले यसको सेवा योग्यता “प्रमाणित” गर्नेछ। त्यसपछि, तपाईंले एप्पलको स्वीकृत सेवा प्रदायक खोज्ने, एप्पल स्टोरमा भेट्ने समय मिलाउने, वा मेल-इन सेवाको व्यवस्था गर्न एप्पल सपोर्टलाई सम्पर्क गर्ने जस्ता विकल्पहरू पाउनुहुनेछ।
प्रकाशित: १९ कार्तिक २०८१, सोमबार