ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा इलन मस्क अदालतमा उपस्थित हुनुपर्ने

Technology Khabar १५ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।

अर्बपति इलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

फिलाडेल्फियास्थित अदालतका एक न्यायाधीशले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धात्मक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलरको उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइमा उपस्थित हुन आदेश दिएका हुन।

फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गरेका थिए।

न्यायाधीश एनी मेरी कोयलले भनिन्, “सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।”

मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो। मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गरेका छन्।

यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहनुभएको छ र अरूलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहनुभएको छ भने राज्यहरूमा अरूलाई मतदान गर्न रिफर गर्नेहरूलाई ४७ डलर दिइरहेका छन्।

स्पेसएक्स र एक्सका मालिक ५३ वर्षीय मस्कले गत जुलाईमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरेयता आफ्नो समय र पर्याप्त प्रभाव लाखौँ अमेरिकीलाई पारेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई आफ्नो व्यक्तिगत सहयोग ११ करोड ८० लाख अमेरिकी डलर सहयोग गरेका छन्।

पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा ट्रम्पसँगै मस्क पनि मञ्चमा देखा पर्ने गरेका छन्।

यसअघि बाराक ओबामालाई समर्थन गरेका मस्कले एक्समा दैनिक २० करोड २० लाख ‘फलोअर्स’ छन् । रासस/एएफपी

प्रकाशित: १५ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया