सार्वजनिक गाडी कहाँ आईपुग्यो भनेर जानकारी दिने ‘लेट्ज गो’ एप, चलाउँदा शुल्क नलाग्ने

  • Technology Khabar | ७ भाद्र २०७५, बिहीबार
सार्वजनिक गाडी कहाँ आईपुग्यो भनेर जानकारी दिने ‘लेट्ज गो’ एप, चलाउँदा शुल्क नलाग्ने

काठमाडौं ।

काठमाडौं । काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहजरुपमा पुर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् ।

एनसेलले रामलक्ष्मण ईनोभेसन्स् प्राईभेट लिमिटेडसँग सहकार्य गर्दै ‘लेट्ज गो’ (Letz Go) नामक मोबाइल एप ल्याएको छ । सो एपमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरु हाल कहाँ छन् र आफुले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफुलाई पायक पर्ने बिसौनीमा आईपुग्छ भन्ने जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

लेट्जगो एप यहि शुक्रबार भदौ ८ गतेदेखि संचालनमा हुनेछ र एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै सो एपको सेवा लिंदै बस स्ट्यान्डमा लामो प्रतिक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । एपले प्रयोगकर्तालाई विद्यमान समयमा संचालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोही अनुसार प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमा गई बस चढ्न सक्नेछन्।

लेट्जगो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी सर्वप्रथम एप सुचारु गर्नुपर्छ । एप सुचारु गरे पश्चात भने कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ।

शुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटहरुमा संचालनमा रहेका ६०० भन्दा बढि सार्वजनिक सवारी साधनहरुको बारेमा जानकारी प्रदान गर्नेछ । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरीएको जिपिएस ट्रयाकिङ् प्रणालीका आधारमा प्राप्त हुने बताईएको छ।

ग्राहकको सुविधाका लागि र डिजिटल प्रविधिमा आधारित यस नविन सेवालाई प्रवर्धन गर्नका लागि एनसेलले यो एपलाई ‘जिरो रेटेड’ गरेको छ । अर्थात यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्क लाग्ने छैन । एप स्टोरबाट एप डाउनलोड गर्दा भने विद्यमान डाटा शुल्क लाग्नेछ ।

रामलक्ष्मण ईनोभेसन्स्सँगको सहकार्यमा आफ्ना ग्राहकका लागि सार्वजनिक यातायात सेवालाई सहज तथा ग्राहक मैत्री बनाउन लेट्जगो एप ल्याउन पाएको कम्पनी निकै हर्षित भएको एनसेलले जनाएको छ । यस एपले सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्न योगदान पुर्याउने कम्पनीको भनाई छ।

एप प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमा आफु सवार हुने रुटको बस नजिक आउँदा अलर्ट प्राप्त गर्ने सुविधा पनि आफैं राख्न सक्छन् । यस्तो बेलामा बस र प्रयोगकर्ताको दुरी कति छ र बस भएको स्थानमा पुग्न लाग्ने समय पनि एपले जानकारी दिनेछ, जसले प्रयोगकर्तालाई आफ्नो यात्रा प्लान गर्न सहज बनाउने छ ।

‘यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सार्वजनिक सवारी साधनका संचालकहरु, दैनिक रुपमा सवारी प्रयोग गर्ने यात्रु अनि आम नागरिक लगायतका सम्बन्धित सरोकारवालाहरुसँग वृहत छलफल गरेर हामीले यो एपको विकास गरेका हौं,’ रामलक्ष्मण ईनोभेसन्स्का प्रविधि अनुसन्धानकर्ता राम प्रसाद रिमालले भने ।

लेट्जगो एपमा लोकेसन शेयर, ट्याक्सी बुकिङ् र आन्तरिक उडानका समय तालिका लगायत अन्य विशेषताहरु पनि रहेको कम्पनीले जनाएको छ ।

यदि तपाईँ पनि यो एप चलाउन चाहनुहुन्छ भने गूगल प्ले  स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्न‍ुस् ।

प्रकाशित: ७ भाद्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार