
काठमाडौं ।
ईस्वी सम्वत् ९४६ मा चीन र उत्तर कोरियाको सिमानामा रहेको चाङबाईशान-टियानची ज्वालामुखी क्षेत्रमा ठूलो ज्वालामुखी विस्फोट भयो। यो विस्फोटले धेरै मात्रामा म्याग्मा बाहिर फाल्यो र ज्वालामुखीको शिखरमा रहेको अहिले स्वर्ग ताल अर्थात् हेभन लेक भनेर चिनिने रहेको तलाउबाट ठूलो बाढी ल्यायो। हिजोआज पनि बाढीले माथिबाट बगाएका ठूला ढुंगा र साना ढुंगाहरू देख्न सकिने लाइभसाइन्सले उल्लेख गरेको छ।
कोरियाली भाषामा बैकडु भनिने यो ज्वालामुखी फेरि विस्फोट हुन सक्ने बताइएको छ। त्यसैले ज्वालामुखी विशेषज्ञहरूले यसले ल्याउन सक्ने जोखिमहरू बुझ्न खोजिरहेका छन्।
इस्वी सम्वत् ९४६ को विस्फोटपछि आएको बाढीको अध्ययन गर्न ‘किन’ नाम गरेका अनुसन्धाता र उनको टोलीले ज्वालामुखीबाट आएका थुप्रिएका तहहरूको अध्ययन गरे। उनीहरूको अध्ययनले कम्तिमा १ घन किलोमिटर पानी ज्वालामुखीको क्याल्डेरा (मुख) बाट बाहिर आएको र यसले झन्डै ३ घण्टामा ३४ मिटर प्रति घण्टाको दरले माटो कटान गरेको देखाएको छ।
यसबाहेक अनुसन्धानले विस्फोट दुई चरणमा भएको थियो र बाढी ती दुई चरणको बीचमा आएको थियो भन्ने पनि देखाएको छ। अरू वैज्ञानिकहरूका अनुसार विस्फोटपछि ज्वालामुखीको छेउ फुटेर बाढी एकैचोटि आएको थियो। तर यस अध्ययनका लेखकहरूले यस्तो एकैचोटिको बाढी सम्भव नरहेको बताएका छन् किनकि माटो एकैचोटिको बाढीबाट हुनेजस्तो त्यति धेरै ठाउँमा फैलिएको थिएन।
अनुसन्धानकर्ताहरूले तीनवटा वैकल्पिक सम्भावनाहरू प्रस्तुत गरेका छन्। पहिलोमा, ज्वालामुखीको मुनिबाट म्याग्मा माथि उठेपछि पानी क्याल्डेराको किनारबाट आफैं बगेको हुन सक्छ। दोस्रोमा, ज्वालामुखीले भूकम्प निम्त्यायो, जसले गर्दा क्याल्डेराको भित्री पर्खाल तल झरेर तलाउमा खस्यो, र यसले तलाउको पानी बगायो। तेस्रोमा, घटनाअघि परेको वर्षाले क्याल्डेरा पानीले भरियो र खाल्डोको किनारा कमजोर भयो, जसले गर्दा पानी बाहिर बग्न थालेको हुन सक्छ।
ईस्वी सम्वत् ९४६ को जस्तो पुरानो बाढीलाई बुझ्न सक्नाले केवल चाङबाईशान-टियानची ज्वालामुखीमा मात्र नभई संसारभरका अन्य ज्वालामुखीहरूमा पनि भविष्यमा हुने प्राकृतिक विपदहरूबाट जोखिममा रहेका जनसंख्यालाई तयारी गराउन सहयोग गर्न सक्ने अनुसन्धानकर्ताहरूले लेखेका लाइभसाइन्सले उल्लेख गरेको छ।
प्रकाशित: ५ कार्तिक २०८१, सोमबार