Technology Khabar ३० आश्विन २०८१, बुधबार
काठमाडौं ।
केही मुख्य कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलहरू साइबर सुरक्षा, लचिलोपन र विभेदपूर्ण नतिजा जस्ता युरोपेली नियमहरूका केही प्रमुख क्षेत्रमा असफल भइरहेका छन्। यीध्ये केही डाटाहरूलाई आफूले देखेको रोयटर्सको भनाई छ।
ओपनएआईले २०२२ को अन्त्यमा च्याटजीपीटी सार्वजनिक गर्नु अघिसम्म युरोपेली संघ (ईयू) ले लामो समयदेखि नयाँ एआई नियमहरूमा छलफल गरिरहेको थियो।
यस्तो मोडेलको तीव्र लोकप्रियता र तिनले ल्याउने सम्भावित अस्तित्वगत जोखिमहरूको सार्वजनिक छलफलले कानून निर्माताहरूलाई “सामान्य-उद्देश्य” एआई अर्थात् (जीपीएआई) जनरल पर्पस एआईसम्बन्धी विशेष नियमहरू तयार गर्न प्रेरित गर्यो।
रोयटर्सका अनुसार अब स्विस स्टार्टअप ल्याट्टिसफ्लो र यसका साझेदारहरूले डिज़ाइन गरेको नयाँ उपकरणले मेटा, ओपनएआईजस्ता ठूला प्रविधि कम्पनीहरूले विकास गरेका जेनेरेटिभ एआई मोडेलहरूलाई दर्जनौं श्रेणीहरूमा परीक्षण गरेको छ जुन ईयूको आगामी एआई कानून अनुरुप छ। यो कानून आगामी दुई वर्षहरूमा विभिन्न चरणहरूमा लागू हुँदैछ।
ल्याट्टिसफ्लोद्वारा बुधबार प्रकाशित लिडरबोर्डले अलिबाबा,एन्थ्रोपिक, ओपनएआई, मेटा र मिस्ट्रलले विकास गरेका मोडेलहरूले ०.७५ वा सोभन्दा बढी औसत अंक प्राप्त गरेको देखायो।
तर ल्याट्टिसफ्लोको “लार्ज ल्याङ्ग्वेज मोडल एलएलएम चेकर” ले केही मोडलहरूको प्रमुख क्षेत्रमा कमीकमजोरी फेला पारेको छ, जसले कम्पनीहरूले नियम पालन सुनिश्चित गर्न स्रोतहरू फेरि निर्देश गर्नुपर्ने हुन सक्ने देखाउँछ।
एआई कानूनका नियमहरू पूरा नगर्ने कम्पनीहरूले ३५ मिलियन यूरो (३८ मिलियन डलर) वा वार्षिक विश्वव्यापी कारोबारको ७% जरिवाना सामना गर्नुपर्नेछ।
मिश्रित परिणामहरू
हाल ईयू अझै पनि जेनेरेटिभ एआई उपकरणहरू जस्तै च्याटजीपीटीलाई एआई कानूनका नियमहरू कसरी लागू गर्ने भन्नेमा निर्णय गरिरहेको छ र प्रविधिको लागि अभ्यासको नियमहरू तयार गर्न २०२५ को वसन्तसम्म विशेषज्ञहरूलाई जुटाइरहेको रोयटर्सले उल्लेख गरेको छ।
तर स्विस विश्वविद्यालय ETH Zurich र बुल्गेरियाको अनुसन्धान संस्थान INSAIT का शोधकर्ताहरूको सहयोगमा विकास गरिएको ल्याट्टिसफ्लोको परीक्षणबाट प्रविधि कम्पनीहरूले कानुनको पालना गर्न जोखिमपूर्ण हुनसक्ने विशेष क्षेत्रहरूको प्रारम्भिक संकेत दिन्छ।
उदाहरणका लागि विभेदपूर्ण नतिजा जेनेरेटिभ एआई मोडेलहरूको विकासमा निरन्तर समस्या बनेको छ, जसले लिंग, जाति र अन्य क्षेत्रमा मानवीय पूर्वाग्रहलाई प्रतिबिम्बित गर्छ।
प्रकाशित: ३० आश्विन २०८१, बुधबार