ताजा समाचार

सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै आउने: सञ्चार मन्त्री

सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै आउने: सञ्चार मन्त्री
सञ्चारमन्त्री गुरुङ काठमाडौँ, १७ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार राष्ट्रिय समाचार समिति (रासस)को नेपाली भाषामा २४ घण्टा समाचार सेवा औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै । तस्बिरः किरणराज विष्ट÷रासस
Global IME Bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताएका छन।

रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उनले भने, “काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ । चौबिसै घण्टा गतिशील हुनुले ठूलो अर्थ राख्छ, हामीले फड्को हानेका छौँ ।”

मन्त्रालयले ऐन, कानुन निर्माण र संशोधनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले केही ऐन सरकारका एक सय दिनभित्र सम्पादन गर्नेगरी काम भइरहेको स्पष्ट पारे।

“सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धी विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक भदौ मसान्त तथा दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्रसम्बन्धी विधेयक, डाटा सेन्टर सञ्चालन मापदण्ड र सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि असोज मसान्तसम्म तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्नेगरी काम थालनी गरिएको छ”, मन्त्री गुरुङले भने।

सुरक्षित मुद्रणसम्बन्धी नियमावली स्वीकृतिका लागि यही भदौ मसान्तभित्र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री गुरुङले हुम्लामा द्रूत गतिको इन्टरनेट सेवा पुर्याइने बताए। पुराना नीति नियममा टेकेर नयाँ काम गर्न नसकिने स्पष्ट पार्दै उनले ऐनकानुनलाई समयानुकूल बनाइनुपर्ने आवश्यकता औँल्याए । “पुराना हतियार बोकेर समयसापेक्ष सेवा देऊ भन्न मिल्दैन”, उनले भने।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गुरुङले नीति बनाएरै यसलाई सम्बोधन गरिने बताए। सार्वजनिक प्रसारण सेवा विधेयक समितिबाट पारित भएको जनाउँदै उनले मिडिया काउन्सिल विधेयकले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे।

सञ्चार सचिव राधिका अर्यालले सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गरी दूरदराजका नागरिकसम्म पहुँच पुर्याउन निर्देशन दिँदै आधिकारिता र विश्वसनीयता कायम गर्दै सेवा क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिईन्। रासस
Sajilo Visa
easy care