एप्पलको मुख्य इभेन्ट सेप्टेम्बर ९ मा आयोजना हुने, आईफोन १६ सिरिज सार्वजनिक गरिने

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

अमेरकी टेक जायन्ट एप्पलले आफ्नो यस वर्षको फल इभेन्ट अथात् शरद ऋतुको मुख्य कार्यक्रम आगामी सेप्टेम्बर ९ तारिखका दिन आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले सोमबार निमन्त्रणा पठाएको उल्लेख गर्दै कुपरटिनोमा रहेको मुख्यालयमा हुने उक्त इभेन्टमा सधैं झैं कम्पनीले नयाँ आईफोन तथा अन्य डिभाइस तथा एपहरुमा अपडेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

आफ्नो पछिल्लो समय विश्वब्यापी बिक्री, विशेषगरी चीनको बजारमा, आएको मन्दीलाई उल्ट्याएर नाफा बढाउन तथा एआई परियोजना अगाडि बढाउनका लागि एप्पलको यो आउँदै गरेको सार्वजनिक कार्यक्रम निकै नै महत्वपूर्ण मानिएको छ।

गत जुनमा भएको एप्पलको डेभलपर कन्फरेन्समा कम्पनीले एप्पल इन्टेलिजेन्स शीर्षकमा एआईका फिचरहरु प्रदर्शन गरेको थियो। यसमा अन्य सुविधासहित सिरि एपको स्तरोन्नति तथा च्याटजीपीटीसँगको सहकार्यसमेत समावेश थियो।

तर यी फिचरहरु एप्पलको पछिल्लो डिभाइसहरुमा मात्र उपलब्ध हुने र यो रोल आउट पनि यसै वर्षको अन्त्यतिर शुरु हुने उल्लेख गरिएको छ। एप्पलले सामसङ तथा अल्फाबेट इंकको गुगलजस्ता प्रतिस्पर्धीहरुबाट निकै दबाब खेपिरहेको छ किनकि यी दुईले हालै आफ्ना पिक्सेल तथा ग्यालेक्सी सिरिजहरुमा एआईका विशेगताहरु थपेर बजारमा उपलब्ध गराएका छन्।

रोयटर्सले उल्लेख गरे अनुसार एप्पलको निमन्त्रणामा ‘इट्स ग्लोटाइम’ मात्र लेखिएको छ भने अन्य कुनै विवरण उपलब्ध गराइएको छैन। कम्पनीले प्राय सबै वर्षहरुमा हुने यसै इभेन्टमा नयाँ आईफोन तथा वाचहरु सार्वजनिक गर्दै आएको छ।

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया