ह्वाट्सएपमा जस्तै २४ घण्टामा मेसेज डिलिट हुने फिचर परीक्षण गर्दै थ्रेड्स

Technology Khabar १० भाद्र २०८१, सोमबार

काठमाडौं ।

मेटा प्लेटफर्म अन्तर्गतको माइक्रो ब्लगिङ साइट थ्रेड्सले पनि ह्वाट्सएपमा जस्तै २४ घण्टामा आफैं मेसेज डिलिट हुने डिज्अपियरिङ मेसेजेज फिचर परीक्षण गरिरहेको छ। उक्त प्लेटफर्मले प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्टहरूमा २४ घण्टाको समाप्ति टाइमर राख्न सकिने विकल्प दिनका लागि परीक्षण गरिरहेको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था इन्ग्याजेटका अनुसार यो फिचर रोल आउट भएको खण्डमा समय सकिएपछि पोस्ट र सबै रिप्लाईहरू स्टोरिजहरुजस्तै आफैं डिलिट हुनेछन्।

यो फिचरलाई पहिलो पटक यसै वर्षको ग्रीष्म ऋतुको सुरुवातमा डेभलपर अलेसान्द्रो पालुज्जीले देखेको बारे यसअघि टेकक्रन्चले समाचार सामग्री प्रकाशन गरेको थियो।

झट्ट हेर्दा यो फिचर पुरानो ट्विटरको फ्लीट्स जस्तै छ। फ्लीट्सलाई भने ट्विटरमा खासै धेरै जनाले प्रयोग गरेनन्। तर यो फिचर अस्थायी ढाँचाले लगातार पोस्टहरू मेटाउने बानी भएका प्रयोगकर्ताहरूलाई केही सजिलो बनाउन सक्छ।

केही महिना अगाडि इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले थ्रेड्समा अटो आर्काइभिङ फिचरको परीक्षण भइरहेको बताएको केही समयमा यो विकल्प आएको हो। यो वैकल्पिक फिचरले प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्टहरूलाई फिडबाट लुकाउनको लागि समयावधी तोक्न मद्दत गर्नेछ।

इन्ग्याजेटका अनुसार तर थ्रेड्सका प्रयोगकर्ताहरूले अटो-आर्काइभको विचारलाई खासै मन पराएका छैनन् र यस्तो फिचरले अझै व्यापक रूप लिएको छैन।

प्रकाशित: १० भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया