ईयूमा अब आईफोनमा थप डिफल्ट एप सेट गर्न र थप बिल्ट–इन एप डिलिट गर्न पाइने

Technology Khabar ८ भाद्र २०८१, शनिबार

काठमाडौं ।

एप्पलले शुक्रबार ईयूको डिजिटल मार्केट ऐनलाई राम्रोसँग पालना गर्नको लागि भनेर आफ्नो मोबाइल अपरेटिङ सिस्टमहरूमा लागू गर्न लागेका परिवर्तनहरूको नयाँ सेटको घोषणा गरेको छ।

“युरोपियन आयोगसँग चलिरहेको निरन्तर संवाद” को नतिजाको रूपमा कम्पनीले ईयूमा आईफोन र आईप्याडहरूलाई ब्राउजर, मेल, एप मार्केटप्लेस र कन्ट्याक्टलेस एपहरू बाहेक थप एपहरूको लागि नन्–एप्पल डिफल्टहरू सेट गर्न अनुमति दिनेछ।

फोन कल्स, मेसेजिङ, पासवर्ड, किबोर्ड, र कल स्प्याम फिल्टरहरूको लागि फरक डिफल्ट (पूर्वनिर्धारित) मा स्विच गर्न सकिने थप उल्लेख गरिएको छ।

त्यसैगरी यी सबैलाई आईओएस १८ र आईप्याडओएस १८ को नयाँ एप सेटिङ्सको टप (शीर्ष) मा नयाँ डिफल्ट एप्स सेक्सन (खण्ड) अन्तर्गत प्रस्तुत गरिने जनाइएको छ। साथै यी नयाँ डिफल्टहरूलाई सेट गर्ने क्षमता “यस वर्षको अन्त्यको अद्यावधिकमा” आइपुग्ने उल्लेख छ।

त्यसपछि, सन् २०२५ को वसन्तमा एप्पलले नेभिगेसन एप्स र ट्रान्सलेसन (अनुवाद) का लागि डिफल्ट सेटिङका लागि समर्थन थप्नेछ।

यसबाहेक एप्पलले ईयू प्रयोगकर्ताहरूलाई थप बिल्ट–इन एप्स डिलिट गर्न पनि दिनेछ। “यस वर्षको अन्त्यको अद्यावधिकमा”, एप्पलको मोबाइल अपरेटिङ सिस्टमले प्रयोगकर्ताहरूलाई एप स्टोर, मेसेजेज, क्यामरा, फोटोज र सफारी मेटाउन दिनेछ। एप्समध्ये एप्पलको सेटिङ्स र फोन भने डिलिट नहुने जनाइएको छ।

तसर्थ, अब सफारीलाई आफ्नो डिफल्ट (पूर्वनिर्धारित) ब्राउजरको रूपमा सेट गरेका सबै प्रयोगकर्ताहरूले ईयूमा अद्यावधिक गरिएको ब्राउजर च्वाइस स्क्रिन देख्नसक्नेछन। साथै यो नयाँ च्वाइस स्क्रिनमा तेस्रो पक्ष ब्राउजरहरूको बारेमा थप जानकारी हुनुका साथै ती ब्राउजरका विकासकर्ताहरूले च्वाइस स्क्रिनको पर्फमेन्सको बारेमा एप्पलबाट थप डाटा प्राप्त गर्नेछ।

यदि तपाईंले यो नयाँ च्वाइस स्क्रिन मार्फत आफ्नो डिफल्टको रूपमा फरक ब्राउजर चयन गर्नुभयो र तपाईंको डकमा वा तपाईंको होम स्क्रिनको पहिलो पृष्ठमा सफारी छ भने, तपाईंको चयन गरेको ब्राउजरले तपाईंको डक वा तपाईंको होम स्क्रिनमा सफारी आइकनलाई प्रतिस्थापन गर्ने उल्लेख गरिएको छ।

यदि तपाइँको मनपर्ने तेस्रो पक्ष ब्राउजर पहिले नै स्थापित छ भने, तपाईंले यसलाई चयन गरेपछि यो खुल्नेछ र यदि यो स्थापित छैन भने यसले डाउनलोड सुरु गर्नेछ भनि जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: ८ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया