आईफोन १६ प्रोको बक्सको स्टिकरले पुष्टि गर्यो “मेड इन इन्डिया” को अफवाह

Technology Khabar ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

यस हप्ताको सुरुवातमा एउटा रिपोर्टले एप्पलले चीनका साथै भारतमा पहिलो पटक आईफोन १६ प्रो र १६ प्रो म्याक्स निर्माण गर्ने योजना बनाएको खुलासा गरेको कियो।

एप्पलको एक प्रमुख म्यानुफ्याक्चरिङ पार्टनर (उत्पादन साझेदार) रहेको फक्सकनले भारतमा आफ्नो तमिलनाडु फ्यासिलिटिमा आफ्नो कामदारहरुलाई प्रशिक्षण दिन सुरु गरिसकेको जनाइएको छ। त्यसैगरी एउटा नयाँ लीकले अब अफवाहहरूलाई थप विश्वसनीयता थप्दै “मेड इन इन्डिया” आईफोन १६ प्रो मोडेलहरू वास्तवमै बाटोमा रहेका उल्लेख गरेको छ।

वेइबो प्रयोगकर्ताबाट आएको लीकले आईफोन १६ प्रो बक्स सिल गर्ने लेबल जस्तो देखिने एक तस्बिर साझा गरेको जनाइएको छ। साथै उक्त लेबलमा “डिजाइन्ड बाई एप्पल इन क्यालिफोर्निया। एसेम्बल्ड इन इन्डिया।” (क्यालिफोर्नियामा एप्पलद्वारा डिजाइन गरिएको, भारतमा एसेम्बल्ड गरिएको) भनेर लेखिएको थप उल्लेख गरिएको छ।

यद्यपि यो लीक अपरिचित स्रोतबाट आएको हुनाले यो लीकको प्रमाणिकता पुष्टि भने नभएको जनाइएको छ। साथै लीकमा रहेको उक्त लेबल “मेड इन इन्डिया” भनेर आएका आईफोन प्रो मोडेलहरूको अफवाहहरूसँग पङ्क्तिबद्ध भएको र यसले अफवाहहरू सत्य भएको हुन सक्ने बलियो सम्भावना बनाएको उल्लेख गरिएको छ।

एप्पलले भारतमा स्ट्याण्डर्ड आईफोन १६ र १६ प्लस नभएर आईफोन १६ प्रो र १६ प्रो म्याक्स मोडेलहरू मात्र एसेम्बल गर्ने अपेक्षा गरिएको छ। रिपोर्ट अनुसार नयाँ मोडलहरूको प्रारम्भिक माग निर्यात मार्फत पूरा गरिने जनाइएको छ। साथै भारतमा स्थानीय उत्पादन भने डिभाइस लन्च भएको केही समय पछि सुरु हुने अपेक्षा गरिएको छ।

त्यसैगरी फक्सकन बाहेक, पेगाट्रोन र टाटा ग्रुप जस्ता भारतका अन्य एप्पल साझेदारहरूले पनि आईफोन १६ प्रो मोडलहरू छिट्टै उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।

भारतमा आईफोन एसेम्बलीमा एप्पलको यो पहिलो उद्यम भने नभएको जनाइएको छ। गत वर्षदेखि क्यालिफोर्नियामा आधारित टेक जायन्टले भारतमा पहिलो पटक आईफोन १५ र आईफोन १५ प्लस मोडेलहरू निर्माण गर्न थालेको थियो।

उच्च मूल्यका कारण नयाँ आईफोनहरूको माग भारतमा कम भएकोले त्यहाँ एसेम्बल गरिने नयाँ आईफोन १६ प्रो र प्रो म्याक्समध्ये अधिकांश अमेरिका, मध्यपूर्व र युरोपमा निर्यात हुने सम्भावना रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया