नयाँ टेलिकम अपरेटर भित्र्याउने सम्बन्धमा अध्ययन गर्दै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | ५ भाद्र २०८१, बुधबार
नयाँ टेलिकम अपरेटर भित्र्याउने सम्बन्धमा अध्ययन गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

– साजन सुवेदी

नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ दूरसञ्चार सेवा प्रदायक ल्याउने सम्बन्धमा अध्ययन गर्ने भएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत नयाँ सेवा प्रदायक ल्याउने बारेमा अध्ययन गर्ने भएको छ।

यसको लागि दूरसञ्चार क्षेत्रको नियामक निकायले आफ्नो १०० दिने कार्य योजना सञ्चार तथा सूचना मन्त्रालयमा पठाएको छ। मन्त्रालय स्रोतमार्फत टेक्नोलोजीखबरले पाएको कार्य योजना बिबरण पत्रमा नयाँ टेलिकम अपरेटर (तेस्रो) भित्र्याउने सम्बन्धमा अध्ययन गर्ने बुँदासमेत राखिएको छ।

यस विषयमा दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नयाँ अपरेटरको बारेमा अध्ययन गरिने योजना रहेको जानकारी दिए।

उनकाअनुसार, नेपालमा नेपाल टेलिकम र एनसेल अस्तित्वमा रहेको बेला अर्को तेस्रो सेवा प्रदायक आवश्यक छ कि छैन, आवश्यक भए के कति समयमा ल्याउने र आवश्यक नभए के कति हिसाबले आवश्यक छैन भन्नेबारे निर्क्योल गर्न अध्ययन शुरु गरिने भएको हो।

केही समय अघिसम्म युनाइटेड टेलिकम लिमिटेड (युटीएल) र स्मार्ट टेलिकमसहित ४ ओटा सेवा प्रदायकहरु रहेकामा हाल नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले मात्र सेवा दिइरहेका छन्।

स्मार्टलाई नियामकले नै अधिनमा लिएर बन्द गराएको छ भने युटिएलको अनुमति पत्र खारेजी गर्ने बाटो अदालतले खोलिदिएको छ।

यसैबीच, यदि तेस्रो सेवा प्रदायक आएको खण्डमा हाल लाइसेन्स खारेज भएर नाममात्र बाँकी रहेका यूटीएल र स्मार्ट टेलिकमको अस्तित्व के हुन्छ? भन्ने प्रश्नमा प्रवक्ता पौडेल भन्छन्,’अध्ययनले नयाँ टेलिकमको आवश्यकता देख्यो र आउने भयो भने पनि यूटीएल र स्मार्ट टेलिकमको अस्तित्वमा कुनै फेरबदल आउँदैन। अहिलेकै अस्तित्वमा रहन्छन्।’

अब आउने सेवा प्रदायक लाइसेन्स खारेज भएर बसेका यूटीएल र स्मार्ट टेलिकमकै ठाउँमा आउन लागेको हो कि भन्ने जिज्ञासामा प्रवक्ता पौडेलले कुनै पुरानो सेवा प्रदायकको ठाउँमा नयाँ प्रदायक आउने भन्ने नहुने बताउँदै, नयाँ आउने सेवा प्रदायक विशुद्ध नयाँ अपरेटरकै रुपमा आएर काम गर्ने स्पष्ट पारे।

प्राधिकरणकाअनुसार, यसरी नयाँ सेवा प्रदायक ल्याउने बारेमा सम्भाव्यता अध्ययन मात्रै गर्न लागिएका कारण यहि मितिमा यसरी आउँछ र यो नामको सेवा प्रदायक आउँछ भनेर तोक्न सकिने अवस्था छैन। प्रचलित कानुन अनुसार आउने भएकाले प्रक्रियागत रुपमा लाग्ने समय जसरी पनि लाग्ने र तत्कालै शुरु हुने स्थिति देखिएको छैन।

यस बाहेक सरकारले नयाँ फ्रिक्वेन्सी नीतिमार्फत समेत तेस्रो अपरेटर आउने बाटो खुला गरेको छ। नीतिमा फ्रिक्वेन्सी अक्सन गराएर नयाँ अपरेटरलाई भित्र्याईने प्रावधान राखिएको छ।

उता प्राधिकरण स्रोतले भने यस विषयमा कुनै ठोस निर्णय र प्रकृया शुरु नभईसकेको जानकारी दिएको छ।

“अहिले बजेट मन्त्रालयमा रोकिएको अवस्था छ त्यसैलाई प्रस्ट्याउन यो सहितका कार्य योजना पठाईएको हो। बजेट स्वीकृत भएर आएपछि मात्रै यसमा कामहरु गर्नुपर्ने हुन्छ,” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

प्रकाशित: ५ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ५ भाद्र २०८१, बुधबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ५ भाद्र २०८१, बुधबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ५ भाद्र २०८१, बुधबार