एआई र सामाजिक सञ्जालको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने व्यक्ति पक्राऊ

Technology Khabar ३ भाद्र २०८१, सोमबार

काठमाडौं ।

सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा व्यक्ति बाजुरा जिल्लाको खप्तड, छेडेदह गाउँपालिका, वडा नं. स्थायी घर भएका अन्दाजी वर्ष २२ को रमेश बहादुर रावत भएको प्रहरीले जनाएको छ।

ब्युरोले एक विज्ञप्ति जारी गरी पक्राऊ परेका व्यक्तिले यस प्रकारका विभिन्न प्रविधिहरुको दुरुपयोग गरी  विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी उनीहरुको  चरित्रमा निर्मम आघात पुऱ्याउने उद्देश्यले अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य-दृश्य सामाग्री तयार तथा प्रसारण गरी सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या गरेको बताएको छ।

यस सम्बन्धमा ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा बाजुराका व्यक्ति हाल सिन्धुपाल्चोकमा रहेको खुल्न आएकाले उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा मिति गत साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राऊ गरेको हो।

पक्राऊ गरेपश्चात राउतलाई जिल्ला अदालत काठमाडौंको आदेशले दिन ५ (पाँच) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका उप-निर्देशक, प्रवक्ता तथा सूचना अधिकारी  प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया