काठमाडौं ।
अमेरिका र बेलायतका ठूला कम्पनीहरूले आफ्नो सफ्टवेयर बजेटको औसत २८ प्रतिशत विक्रेताले अघि सारेका अपग्रेड, प्रणाली स्थानान्तरण र लाइसेन्स परिवर्तनमा खर्च गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ।
सफ्टवेयर मर्मतसम्भार सेवा प्रदायक ओरिजिनाले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार कम्पनीहरूले आफैँले रोज्न नचाहेका यस्ता परिवर्तनमा ठूलो रकम खर्च गर्नुपरेको छ। यसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि अपनाउने प्रतिस्पर्धाका बीच कम्पनीको लागत बढाउनुका साथै सञ्चालनमा जोखिमसमेत थपेको प्रतिवेदनमा उल्लेख छ।
दुई हजारभन्दा बढी कम्पनीलाई समेटेर गरिएको अध्ययनले यस्ता बाध्यकारी खर्च र सञ्चालनमा हुने अवरोधलाई ‘सफ्टवेयर कर’ को संज्ञा दिएको छ।
ओरिजिनाका प्रमुख कार्यकारी अधिकृत थोमस ओ’लरीका अनुसार पुरानो सफ्टवेयर अपग्रेड नगरेमा विक्रेताबाट प्राविधिक सहयोग गुम्ने अवस्था आउन सक्छ। त्यसैले व्यवसाय सञ्चालनका लागि महत्त्वपूर्ण प्रणालीमा यस्तो जोखिम लिनुभन्दा कम्पनीहरू अनिच्छापूर्वक अपग्रेड स्वीकार गर्न बाध्य हुने गरेका छन्।
रोयटर्सका अनुसार सर्वेक्षणमा सहभागीमध्ये ९५ प्रतिशतले अपग्रेड गर्दा नतिजा झन् खराब हुने अपेक्षा हुँदाहुँदै पनि विक्रेताको दबाबमा सफ्टवेयर अपग्रेडका लागि भुक्तानी गरेको बताएका छन्। त्यस्तै, ८० प्रतिशतले प्रमुख सफ्टवेयर विक्रेताबाट अलग हुँदा आफ्नो व्यवसायमा ठूलो अवरोध आउने बताएका छन्।
यसैगरी, ८४ प्रतिशत सहभागीले वरिष्ठ इन्जिनियरिङ कर्मचारीले नयाँ प्रविधि विकास वा व्यवसायसँग सम्बन्धित काममा भन्दा विक्रेताले अनिवार्य बनाएका सफ्टवेयर परिवर्तनमा सधैँ वा प्रायः समय खर्च गर्नुपरेको बताएका छन्।
विक्रेताको प्राविधिक सहयोगसम्बन्धी समयसीमा पूरा गर्न पछिल्ला तीन वर्षमा ९१ प्रतिशत कम्पनीले पूर्ण रूपमा काम गरिरहेका हार्डवेयरसमेत प्रयोगबाट हटाएको सर्वेक्षणले देखाएको छ। ती उपकरणको औसत उपयोगी आयु अझै १.६५ वर्ष बाँकी रहेको अध्ययनमा उल्लेख छ।
प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी संस्थाहरूले पछिल्लो पटक विक्रेताले गराएको सफ्टवेयर परिवर्तनका कारण औसतमा वार्षिक १ करोड २८ लाख ७० हजार अमेरिकी डलर खर्च बेहोरेका थिए।
ओ’लरीले यस्तो समस्या विश्वका विभिन्न क्षेत्रका कम्पनीमा देखिने बताउँदै पुराना प्रविधि प्रणालीमा निर्भर र लामो समयदेखि स्थापित कम्पनीले अझ बढी चुनौती सामना गर्नुपरेको बताएका छन्।
प्रकाशित: ७ कार्तिक २०८३, शनिबार