बाढीपछि सोलुखुम्बुको थामेमा सञ्चार सेवा ठप्प

Technology Khabar १ भाद्र २०८१, शनिबार

काठमाडौं ।

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ भने संचार सम्पर्क समेत विच्छेद भएको छ।

शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ।

बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए।

उनले भने, “थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टिभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गार्ह्रो छ। पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्ता लाग्दो छ।”

बाढीले  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए। रासस

प्रकाशित: १ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया