Technology Khabar २८ श्रावण २०८१, सोमबार
काठमाडौं ।
एप्पलले आईफोन १६ लाइनअप सम्भवतः सेप्टेम्बरमा अनावरण गर्नेछ। साथै कम्पनीले कथित रूपमा ९ करोड थान आईफोन १६ ढुवानी गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य पूरा गर्न एप्पलको उत्पादन साझेदार फक्सकनले चीनको झेङ्झाउ कारखानामा ५० हजार नयाँ कामदारहरू भर्ना गरेको बिजनेसकोरियाले उल्लेख गरेको छ।
आइफोन उत्पादनको पिक सिजन सामान्यतया अगस्टदेखि सुरु भएर डिसेम्बरमा समाप्त हुने गर्दछ। नयाँ कामदारहरू भर्ती गरेर आइफोन १६ को उत्पादन बढाउने प्रयासमा फक्सकनले जुलाई महिनाको अन्तदेखि २५ युआन (लगभग ४,८०० वोन) सम्मको प्रति घण्टा ज्याला प्रदान गर्न थालेको जनाइएको छ।
त्यसैगरी ताइवानी निर्माताले विश्वको सबैभन्दा आइफोन उत्पादनको बृहत् क्षेत्र झेङझाउ कारखानामा हायरिङ बोनस ६,००० युआनबाट बढाएर ७,५०० युआनसम्म पुर्याएको थप उल्लेख छ।
यसबाहेक सामसङ र एलजीले आईफोन १६ लाईनअपको डिस्प्लेको ठूलो उत्पादन सुरु गरेको भर्खरै सुन्नमा आएको छ। एप्पलले सामसङबाट ८ करोड र एलजीबाट ४३ मिलियन डिस्प्ले प्यानल अर्डर गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ श्रावण २०८१, सोमबार