नेपाल टेलिकमको गुणस्तर सुधारमा सञ्चारमन्त्री गुरुङको जोड

Technology Khabar २६ श्रावण २०८१, शनिबार

नेपाल टेलिकमको गुणस्तर सुधारमा सञ्चारमन्त्री गुरुङको जोड
File Photo

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औँल्याएका छन्।

पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रबार निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए।

“अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ”, मन्त्री गुरुङले भने, “तीन/चार वर्षअघि रु ६० अर्ब आम्दानी हुने गरेकामा अहिले कसरी रु ३० अर्बमा झर्यो अब समीक्षा गर्ने बेला आएको छ।”

उनले एक वर्षभित्रमा टेलिकमलगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको उल्लेख गरे।

मन्त्री गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताए।

मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिएको बताए। उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई धेरै पुराना भएकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: २६ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया