
काठमाडौं ।
नासाका लागि इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको क्रू-९ फ्लाइट तत्कालका लागि तोकिएको समयमा प्रक्षेपण नहुने भएको छ। यो उडान आगामी अगस्ट १८ मा हुनेगरी तालिका बनाइएकोमा अब कम्तीमा पनि आगामी सेप्टेम्बर २४ सम्मका लागि पर सारिएको नासालाई उद्धृत गर्दै समाचार संस्था इन्ग्याजेटले जनाएको छ।
हालै एक विज्ञप्तिमार्फत नासाले प्रक्षेपणमा गरिएको यो ढिलाईले आफू तथा बोइङ कम्पनीलाई बोइङ स्टारलाइनर यान फिर्ता हुने समय तय गर्न मद्दत गर्ने बताएको छ ।
अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा ८ ओटा अन्तरिक्षयानहरु एक आपसमा जोड्न मिल्ने भए पनि उक्त स्टेशनको अमेरिकी भागमा भने २ ओटा मात्र अन्तरिक्षयात्री बस्न पुग्ने ठाउँ रहेको बारे नासाले केही खुलाएको छैन। तर स्टारलाइनर ८ दिन बस्ने भनेर गए पनि उसको बसाई १ महिना लम्बिएकाले यी दुवै स्थान हाल त्यसैले ओगटेको छ।
नासाले स्टारलाइनरका ग्राउण्ड टिमले उक्त अन्तरिक्षयानमा गरेका सबै परीक्षणको नतिजाहरुको विश्लेषण गरिरहेका बताएको छ। यसै क्रममा टोलीले हट फायर टेस्टको विश्लेषण गरेको बुझिएको छ।
तर ती प्राविधिकहरुले अन्तरिक्षयात्रीद्वय बच विलमोर तथा सुनिता विलियम्सलाई पृथ्वीमा फर्काउने उडान तालिका पक्का गर्नुअघि उक्त यानको सबै प्राविधिक पक्षको सकुशलताको निर्क्योल गर्नुपर्ने समाचारमा जनाइएको छ।
बोइङको पहिलो क्रूसहितको स्टारलाइनर मिशन गत जुनमा प्रक्षेपण गरिएको थियो भने त्यसअघि तोकिएको समयभन्दा केही दिनमात्र ढिलाई गरिएको थियो। यसो गर्नुको मुख्य कारण यो यान अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा नियमित उडानका लागि लायक छ कि छैन भनेर परीक्षण गर्नु रहेको बताइएको छ। तर पनि आईएसएससम्म पुग्ने क्रममा यसमा लगाइएका ५ ओटा थ्रस्टरहरुले काम गर्न छोडेका थिए। पछि यीमध्ये एउटाले मात्र काम गरेको थियो।
विगतमा पनि हिलियम ग्यास चुहावटका कारण बोइङ र नासा दुवैलाई आफ्ना प्रस्तावित मितिबाट अन्तरिक्षयान प्रक्षेपणको समय सार्दै जानुपरेको थियो।
बोइङले यूएस सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनमा दर्ता गरेको उजुरीमा स्टारलाइनर फिर्ता हुन ढिलाई हुन तथा यसको पूर्ण तयारीका लागि आवश्यक धेरै परीक्षण भएका कारण कम्पनीले साढे १२ करोड डलर घाटा ब्यहोरेको उल्लेख गरेको छ।
यद्यपि कम्पनीले आफूहरु स्टारलाइनर अन्तरिक्षयान तथा यसको क्रू सदस्यसहित पृथ्वीमा फर्कने क्षमताप्रति आत्मविश्वास भएकाले अझ थप परीक्षणका लागि नासाको आग्रह स्विकार्ने पनि बताएको छ।
प्रकाशित: २४ श्रावण २०८१, बिहीबार