
काठमाडौं ।
अरु व्यक्तिको फोटो सामाजिक सञ्जलाबाट डाउनलोड गरेर फेक एकाउन्ट बनाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक महिलालाई पक्राउ गरेको छ। उनलाई ब्यूरोबाट खटिएको टोलीले गत साउन २१ गते काठमाडौंबाट गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको गेरूवा गाँउपालिका वडा नं.६ स्थायी घर भएर हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्दै आएकी २३ वर्षीया शुस्मिता थारू रहेकी ब्यूरोका उपनिर्देश तथा प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।
ब्यूरोका अनुसार पीडित महिलाका तर्फबाट आफ्नो फोटो कसैले सामाजिक सञ्जालबाट डाउनलोड गरी त्यही फोटो राखेर फेक एकाउन्ट बनाएको र क्याप्सनमा समेत ‘कल गर्ल’ लेखेको उजुरी पर्न आएको थियो ।
उजुरीमा यसरी फेक एकाउन्ट बनाएर विभिन्न अश्लील कुराहरु पब्लिक पोष्ट गरी मानसिक तनाव, दु:ख र हैरानी दिई समाजमा बदनाम र चरित्र हत्या हुने काम गरेकोले अनुसन्धानका लागि आग्रह गरिएको ब्यूरोका अधिकारीहरुले बताए।
यसरी आएको उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्य गर्ने व्यक्ति २३ वर्षीया शुस्मिता थारू खुल्न आएकोले उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए।
ब्यूरोले दिएको जानकारी अनुसार पक्राऊ परेकी उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको आदेशले दिन ७ (सात) म्याद थप भएर अहिले आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित: २४ श्रावण २०८१, बिहीबार