प्ले स्टोरबाट अचानक किन हट्यो इसेवा एप? कहिले फर्केला?

Technology Khabar २२ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

नेपालमा डिजिटल भुक्तानीका क्षेत्रमा चर्चित सेवाप्रदायक संस्था ‘इसेवा’ को एप्लिकेशन प्लेस्टोरमा नभेटिने भएको छ।

केही समयअघि सम्म सामान्य रुपमा चलिरहेको एप अकस्मात् प्लेस्टोरमा नदेखेपछि प्रयोगकर्तामा अन्योल छाएको थियो। आफ्नो डिभाइसमा इन्स्टल भएको एपले समान्य तरिकाले काम गरिरहेको तर प्लेस्टोरबाट हटेको देखेपछि प्रयोगकर्तामा केही अन्योल छाएको हो।

एण्ड्रोइडको नीति अनुसार यो एप प्लेस्टोरमा फर्कन २४ घण्टा लाग्ने इसेवाका एक अधिकारीले बताए । उनले भने,’इसेवा यसअघि प्राइभेट लिमिटेडमा भएकोमा अब पब्लिक कम्पनीमा परिणत भएकाले त्यससँग सम्बन्धित विवरण एप स्टोरमा अपडेट गर्नुपर्ने हुन्छ। यसरी अपडेट गर्दा एण्ड्रोइडले अस्थायी रुपमा यस्ता एपहरुलाई प्लेस्टोरमा नदेखिने बनाउँछ। काम भइसकेपछि एक पटक प्लेस्टोरबाट हटाइएको एप पुन: फर्कन २४ घण्टाको समय लाग्ने नीति छ।’

उनका अनुसार कम्पनीको नाम इसेवा प्रालिबाट ईसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डेटा युनिभर्सनल नम्बरिङ सिस्टम)मा अपडेट गर्ने काम भइरहेको छ। यसबारे कम्पनीले आफ्नो फेसबुक पेजमा केही समयअघि सार्वजनिक जानकारीको लागि पोस्ट पनि राखेको छ ।

उनले एप स्टोरवाला कम्पनीहरुका नीति अनुसार यस्तो हुने र बेला बेला विभिन्न एपहरु यसरी अस्थायी रुपमा हराउँदै फर्कँदै गर्ने गरेको बताए। ‘यो एप प्लेस्टोरबाट हराउनुको कारण कुनै गलत क्रियाकलाप गरेका कारण नियामक निकाय वा एण्ड्रोइडले नै सजायका रुपमा हटाएको अवस्था होइन।यो सामान्य प्रक्रिया हो’, ती अधिकारीले भने।

यसलाई नकारात्मक रुपमा नबुझिदिन सबैलाई आग्रह गर्दै उनले आफ्नो एपमार्फत् हुने र भइरहेका कारोबारहरुमा कुनै समस्या नआउने तर एप डाउनलोड गर्न खोज्नेहरुले भने नभेट्ने बताए।

यस्तै प्रकारको  अस्थायी रुपमा प्लेस्टोरमा एप नदेखिने समस्या यसअघि पनि भएको र त्यतिबेला पनि कुनै प्राविधिक वा नियामक/नैतिक समस्याका कारण नभई नियमित अपडेटका क्रममा भएको उनले थपे।

यो एप आईओएसमा भने निर्वाधरुपमा उपलब्ध भएको कम्पनीको भनाई छ।

प्रकाशित: २२ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया