युरोपेली देशमा फोर्टनाइट गेम सामसङ एप छोडेर आईओएसमा फर्कने

  • Technology Khabar | १२ श्रावण २०८१, शनिबार
युरोपेली देशमा फोर्टनाइट गेम सामसङ एप छोडेर आईओएसमा फर्कने

काठमाडौं ।

भिडियो गेम कम्पनी एपिक गेम्सले आफ्नो लोकप्रिय गेम फोर्टनाइट अब युरोपियन युनियनका देशहरुमा सामसङ एप छोडेर आईओएसमा फर्किने भएको छ।

कम्पनीले एप्पलसँग लामो समयदेखि चल्दै आएको कानुनी लडाईँ टुङ्ग्याउँदै बिहीबार यस्तो जानकारी दिएको हो ।

एपिक गेम्सले आफ्ना गेमहरु स्मार्टफोन कम्पनीका आधिकारिक एप स्टोरभन्दा अन्य प्लेटफर्महरुमा पनि उपलब्ध गराउन प्रयास गरिरहेको छ। यसो हुनुमा इन एप भुक्तानीमा अत्यधिक कमिशन काटिने र प्रयोगकर्ताले पनि त्यस्ता कम्पनीका एप स्टोरहरुबाट मात्र किन्नुपर्ने बाध्यता प्रमुख मानिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसै सन्दर्भमा अब युरोपेली देशहरुमा फोर्टनाइट गेमलाई सामसङको एप स्टोरबाट निकालेर आईओएसको एप स्टोरमा उपलब्ध गराउन लागेको बुझिएको छ। कम्पनीले सामसङले उक्त गेमको साइडलोडिङ रोकेकोमा त्यसलाई प्रतिस्पर्धा विरोधी कदम भएको निर्क्योल गरेर आईओएसतिर फर्कन लागेको हो।

साइडलोडिङ भन्नाले कुनै पनि गेम वा एप सम्बन्धित स्मार्टफोन कम्पनीको आधिकारिक एप स्टोरबाहेक अन्य प्लेटफर्मबाट पनि इन्स्टल गर्न सकिने अवस्था हो।

एपिक गेम्सले आफ्ना मोबाइल गेमहरु युरोपियन युनियन अन्तर्गतका देशहरुमा अल्टस्टोरमार्फत् आईओएसमा उपलब्ध गराउने जनाएको छ। अल्टस्टोर साइडलोडिङ गर्न सकिने सुविधा भएको तेस्रो पक्षको स्टोर हो ।

प्रकाशित: १२ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार