Technology Khabar ९ श्रावण २०८१, बुधबार
काठमाडौं ।
ट्विटर (हाल एक्स)ले उसको प्लेटफर्ममा प्रयोग हुँदै आएको वाटर पिस्टल इमोजीलाई परिवर्तन गरी पुरानै सामान्य हाते बन्दुकको इमोजीमा परिणत गरेको छ ।
यसबारे एक्सका एक कर्मचारीले गत हप्ता आफ्नो पोस्टमा बताएका हुन्। तर एक्सको कम्पनी वा यसका प्रमुख मस्कले यसबारे आधिकारिक रुपमा केही बताएका छैनन्।
यसको आकार र रुपरेखा हेर्दा कम्पनीको लोगो वा ब्राण्डसँङ्ग तालमेल हुने जस्तो देखिएको द भर्जले उल्लेख गरेको छ।

ट्विटरले यसअघि सन् २०१८ मा गुगल र फेसबुकको सिको गर्दै आफ्नो इमोजी परिवर्तन गरेर वाटर गनमा परिणत गरेको थियो । एप्पलले सन् २०१६ मा आफ्नो इमोजी परिवर्तन गरेको थियो भने माइक्रोसफ्टले भने परिवर्तन गरेको छैन।
इमोजीहरुमध्ये कुनलाई पहिलो बनाउने भन्ने निर्णय गर्ने अधिकारप्राप्त संस्था यूनिकोड कन्सोर्टियमले प्लेटफर्ममा आएकामध्ये सबैभन्दा धेरै इमोजीलाई हेरेर पहिले रहेको पिस्टल इमोजीलाई वाटर पिस्टल नामाकरण गरेकाे थियो ।
इमोजीहरु संसारभरका लागि एउटै अर्थ प्रदान गर्नेगरी बनाइएका हुन्छन् भने यिनीहरुको प्रत्येकको आफ्नै र एउटै निश्चित कोड हुन्छन् । उदाहरणका लागि U+1F52B कोड वाटर पिस्टलको परिचयात्मक कोड हो ।
कुन इमोजीलाई कुन कोड दिने भन्ने निर्णय पनि युनिकोड कन्सोर्टियमले नै गर्दछ। यसमा सम्बन्धित प्लेटफर्मले आफूलाई उक्त इमोजीले कसरी प्रतिनिधित्व गर्छ र गर्नुपर्छ भन्ने कुराको निर्णय गर्दछन् ।
सन् २०१७ मा गुगल, माइक्रोसफ्ट तथा एप्पलले आफ्ना प्लेटफर्ममा राखेका बर्गरका छुट्टाछुट्टै इमोजीले निकै सनसनी मच्चाएको थियो ।
एक्सको नयाँ इमोजीका हकमा हेर्दा वेब भर्जनमा एकस् चलाउँदा परिवर्तन भएको नयाँ हाते बन्दुकको इमोजी देख्न सकिन्छ भने मोबाइल भर्सनमा पनि छिट्टै देख्न सकिने द भर्जले उल्लेख गरेको छ ।
प्रकाशित: ९ श्रावण २०८१, बुधबार