
काठमाडौं ।
कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमार्फत कम्बोडियास्थित भारतीय दूतावासले बताएको छ, “कम्बोडियाका अधिकारीको सहयोगमा साइबर अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकहरू रिहा भएका छन्।
कम्बोडियाली पक्षले उनीहरूको हेरचाह गरिरहेको छ। दूतावासले उनीहरूको द्रूत घर फिर्तीका लागि काम गरिरहेको छ र उनीहरूको कल्याणका लागि प्रतिबद्ध छ।”
“कम्बोडियाली अधिकारीसँग नजिकको सहकार्यमा दूतावासले जबरजस्ती अनलाइन ठगीमा फसेका ६५० भन्दा बढी भारतीय नागरिकहरूको उद्धार र स्वदेश फिर्ता गर्न सहयोग गरेको छ”, विज्ञप्तिमा भनिएको छ।
भारतीय दूतावास कम्बोडियाका अधिकारीसँग निरन्तर सम्पर्कमा छ। उद्धार गरिएका १४ जना भारतीय नागरिकहरूको सुरक्षित र समयमै भारत फिर्ता सुनिश्चित गर्न आवश्यक औपचारिकता द्रूतरूपमा पूरा गर्न अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ।
“दूतावासले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र कम्बोडियामा भारतीय नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ। भारतीय नागरिकहरूलाई देशमा कुनै पनि रोजगारीको प्रस्तावको सन्दर्भमा अत्यधिक सावधानी अपनाउन र कुनै पनि संदिग्ध गतिविधिबारे दूतावासलाई तुरुन्तै जानकारी गराउन सल्लाह दिइन्छ,” विज्ञप्तिमा भनिएको छ।
यसअघि मे महिनामा कम्बोडियामा रहेको भारतीय दूतावासले कामका लागि कम्बोडिया जाने भारतीय नागरिकका लागि विदेश मन्त्रालयद्वारा अनुमोदित अधिकृत दलालमार्फत मात्र रोजगारी सुरक्षित गर्न सुझाव जारी गरेको थियो।
“कम्बोडिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा रोजगारीका लागि जाने सबै भारतीय नागरिकहरूलाई यस क्षेत्रमा धेरै नक्कली दलालहरू कार्यरत रहेको जसले भारतीय दलालसँग मिलेर मानिसहरूलाई साइबरसम्बन्धी गैरकानुनी काम गर्ने कम्पनीमा रोजगारीको प्रलोभन दिइरहेका छन्।”
कम्बोडियामा रहेको भारतीय दूतावासका अनुसार दुबई, बैंकक, सिङ्गापुर र भारतजस्ता ठाउँहरूमा यी कम्पनीहरूसँग सम्बन्धित दलालले साधारण अन्तर्वार्ता र टाइपिङ परीक्षा लिएर उच्च तलब, होटल बुकिङ, फिर्ती हवाई टिकट र भिसा सुविधा प्रदान गर्ने प्रलोभनमा पारी भारतीय नागरिकहरुलाई अवैध साइबर गतिबिधिमा संलग्न गराइरहेका छन्। रासस
प्रकाशित: ६ श्रावण २०८१, आईतवार