प्रतिबन्धित वानएक्सबेटको भुक्तानी गर्न कनेक्ट आईपीएसको प्रयोग, सांसदले गरे कारबाहीको माग

  • Technology Khabar | १४ असार २०८१, शुक्रबार
प्रतिबन्धित वानएक्सबेटको भुक्तानी गर्न कनेक्ट आईपीएसको प्रयोग, सांसदले गरे कारबाहीको माग

काठमाडौं ।

नेपालमा प्रतिबन्धित वानएक्सबेटको वेबसाइटमा कारोबार गर्नका लागि कनेक्ट आईपीएसको प्रयोग भएकोभन्दै सांसदले आपत्ति जनाएका छन्। उनले कनेक्ट आईपीएसको दूरुपयोग भईरहेको समेत दाबी गरेका छन्।

आज भएको प्रतिनिधि सभाको बैठकमा सांसद असिम शाहले वनएक्सबेट जस्ता सट्टेबाज वेबसाइटहरु प्रतिबन्धित भएपनि वनएक्सबेटले नेपाली युवालाई फसाउन नेपाली वेबसाइट चलाईरहेको बताएका छन्।

यसैगरी भुक्तानीको विकल्पमध्ये कनेक्ट आईपीएस देखिएको भन्दै कनेक्ट आईपीएसले प्रतिबन्धित रकम भुक्तानी गर्न र निकाल्न सहज बनाईदिएको आरोप लगाएका छन्।

“प्रतिबन्धित भुक्तानी कनेक्ट आईपीएसले सहज गरिदिएको छ र ठगीलाई आफ्नो प्लेटफर्म दूरुपयोग गर्दा समेत टुलुटुलु हेरेर बसेको छ। कनेक्ट आईपीएसले चाहेमा यस्तो समस्याको समाधान रोक लगाउन सक्नेछ,” उनले भने, “ग्राहक संख्या र कारोबार रकम प्रसस्तै देखाउने होडमा हो कि प्रसस्तै यस्तो एकाउन्ट खोल्न दिएको देखिन्छ।”

स्मरण रहोस कनेक्ट आईपीएस नेपाल राष्ट्र बैंकको लगानी सहित बैंकहरुको लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले संचालन गरिरहेको भुक्तानी प्रणाली हो।

अनलाइन जुवाको कुलतमा फस्ने नेपाली युवाहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको र अबैधरुपमा अर्बौको कारोबार भईरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १४ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...