
काठमाडौं ।
नेपाली विद्युतीय सवारी (ईभी) स्टार्टअप यात्री मोटरसाइकलले गत साता उनीहरुको आगामी प्रोजेक्ट १ जेन २ (पी१ जेन २) वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई एकीकृत गर्ने विश्वको पहिलो दुईपाङ्ग्रे सवारी साधन हुने घोषणा गरेको छ।
यो फिचर (सुविधा) अहिलेसम्म चार पाङ्ग्रे सवारीसाधनहरुमा मात्र सीमित छ। पी१ जेन २ ले एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूको लागि सिमलेस स्मार्टफोन इन्टिग्रेसन (एकीकरण) प्रदान गरेर यसलाई परिवर्तन गर्ने लक्ष्य राखेको छ।
यसले राइडरहरूलाई तिनीहरूको पी१ जेन २ लाई आफ्नो स्मार्टफोनमा निर्बाध रूपमा कनेक्ट गर्न अनुमति दिनेछ।
राइडरहरूले बाइकको बिल्ट–इन डिस्प्लेमार्फत फोन फङ्गसनहरू सीधै एक्सेस (पहुँच) गर्न सक्नुका साथै राइड (सवारी) गर्दा सुरक्षित नेभिगेसन, कल, मेसेज (सन्देश) र म्यूजिक (संगीत) कन्ट्रोल (नियन्त्रण) को लागि भ्वाइस कमाण्डहरू प्रयोग गर्न सक्नेछन्।
एप्पल कारप्ले र एन्ड्रोइड अटो इन्टिग्रेसन पी१ जेन २ को पहिलो प्रमुख खुलासा गरिएको विशेषता हो। यात्रीले सन् २०२३ को अन्त्यदेखि आफ्नो प्रोजेक्ट १ को दोस्रो पुस्ता टिज गर्दै आएको छ।
बाइकको समग्र डिजाइन परिवर्तन नहुने भएकाले यो नयाँ थप फिचरहरु हालका पी१ धनीहरूका लागि पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।
यद्यपि लन्च मितिको बारेमा अझै केही पनि नखुलाइएको भएतापनि पी१ जेन २ सन् २०२४ भित्रै रिलीज हुने अनुमान गरिएको छ।
प्रकाशित: ११ असार २०८१, मंगलवार