Technology Khabar ९ असार २०८१, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दरखास्त दिएकामध्ये १६ जना योग्य भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार ६ गते उक्त पदका लागि दरखास्त दिएकामध्ये १६ जनाको दरखास्त स्वीकृत गरेको छ।
मन्त्रालयकाअनुसार दरखास्त दिने १७ जनामध्ये ईन्जिनियर सुभाष साहको दरखास्त अस्वीकृत गरिएको छ।
“तोकिएको मापदण्ड र योग्यता भन्दा उनको योग्यता कम रहेको देखिएको मन्त्रालय स्रोतले भनेको छ, “उनी नेपाल टेलिकममा ८औं तहमा कार्यरत रहेको देखिएकोछ।”
मन्त्रालयले जेठ २२ गते प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। उक्त आवेदनको अन्तिम दिन असार ३ गते मंगलवारसम्म १७ जनाको दरखास्त परेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको थियो।
दरखास्त दिनेमा अधिकांश टेलिकम भित्रकै कर्मचारीहरु छन् भने केहि बाहिरबाट आवेदन परेको छ।
दरखास्त दिनेमा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, वर्तमान निमित्त एमडी संगीता पहाडी (अर्याल), प्रेम प्रसाद सिलवाल, चिन्ता मणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, ई. सुभाष साह, नगेन्द्रकुमार दास, केदार नाथ कोइराला, कमल लामिछाने, रमेश प्रसाद जोशी, ई.शालिक राम सुवेदी र बुद्धी प्रसाद आचार्य रहेका छन्।
यसमध्ये ई. सुभाष साहको दरखास्त अयोग्य भएको हो।
दरखास्त दिनेमध्ये ४ जना बाहेक सबैजसो नेपाल टेलिकमसँग आबद्ध रहेका कर्मचारीहरु रहेका छन्।
दरखास्त दिएका मध्ये नेपाल टेलिकममै कार्यरत डा. विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक रहेका अनिल कुमार झा चर्चामा रहेका छन्।
यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेशनल पेमेन्ट गेटवेमा भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएसँगै टेलिकमको उक्त पद रिक्त रहेको थियो। तत्कालिन समयमा, पौडेललाई नियुक्त गर्दा पनि तत्कालिन सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की तथा तत्कालिन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले कार्यबिधिनै संसोधन गरेका थिए।
पौडेललाई नियुक्त गरेपछि भएको चर्को विरोधको प्रतिवाद गर्दै तत्कालिन समयमा पूर्व सञ्चार मन्त्री कार्कीले उनि नियुक्तीका लागि सबैभन्दा उपयुक्त व्यक्ति भएको जिकिर गरेका थिए।
हेर्नुस् मन्त्रालयको सूचना-
1718876861_23प्रकाशित: ९ असार २०८१, आईतवार