सूचना प्रविधिका यी उद्योगले लाभांशलाई शेयरमा पूँजीकरण गरेमा शतप्रतिशत कर छुट पाउने

Technology Khabar १६ जेष्ठ २०८१, बुधबार

काठमाडौं ।

सरकारले आयकर ऐन २०५८ मा संशोधन गर्दै विदेशी कम्पनी वा व्यक्तिले नेपालमा ९० दिनसम्ममा डिजिटल उपस्थिती जनाएमा आय कर तिर्नुपर्ने व्यवस्था गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा पेश गरेको आर्थिक विद्येयक २०८१ अनुसार आयकर ऐन, २०५८ को – (१) दफा २ को (ख) खण्ड (कद) को उपखण्ड (४) पछि उपखण्ड (५) थपिएको छ।

जसमा लेखिएको छ, “नेपाल बाहिर रही नेपालमा उल्लेख्य डिजिटल उपस्थिति जनाएमा उक्त स्थान वा नेपाल बाहिर सर्भर राखी विगत बाह्र महिनाको अवधिमा कम्तीमा नब्बे दिन नेपालमा तथ्याङ्क वा सेवाको कारोबार गरेमा उक्त स्थान।”

यसैगरी सरकारले सूचना प्रविधि क्षेत्रका उद्योगले आफ्नो संञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पूँजीकरण गरेको अवस्थामा त्यस्तो पूँजीकरणमा लाभांश वितरण बापत लाग्ने लाभांश करमा शतप्रतिशत छुट हुने सुबिधा दिएको छ।

यसको लागि सरकारले ऐनको दफा ११ को उपदफा (३ठ) मा रहेका “विशेष उद्योग” भन्ने शब्दहरुको सट्टा “विशेष उद्योग, सूचना प्रविधि उद्योग” भन्ने शब्दहरु राखेको छ।

सरकारले उपदफामा उल्लेख गरेको विशेष उद्योग, सूचना प्रविधि उद्योगअन्तरगत “सूचना प्रविधि उद्योग” भन्नाले टेक्नोलोजी पार्क, सूचना प्रविधि पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्यांक प्रशोधन, डिजिटल म्यापिङ्ग, बिजनेस प्रोसेस आउटसोर्सिङ्ग, डाटा माइनिङ्ग, क्लाउड कम्प्युटिङ्ग उद्योगलाई समावेश गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया