बाढीको पूर्व सूचना दिन साइरन जडान

Technology Khabar १४ जेष्ठ २०८१, सोमबार

बाढीको पूर्व सूचना दिन साइरन जडान
फाइल सांकेतिक तस्बिर

काठमाडौं ।

जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बाढीको पूर्व सूचना दिन साइरन जडान गरेको छ।

ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको जलविद्युत् आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १५ स्थानमा साइरन जडान गरेको हो।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्व सूचना दिन साइरन जडान गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

उनले भने, “सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडानका लागि ठाउँ छनोट गरिएको थियो।”

आयोजनाले केही दिनअघि मात्रै व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छतमा साइरन जडान गरेको थियो। आयोजनाको विशेष अनुरोधमा क्याम्पसको छतमा साइरन जडान गर्न ठाउँ उपलब्ध गराइएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।

साइरन जडान पश्चात् व्यास–१, ३ र १३ को सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समय नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजानका सचेत बनाउने उनले बताए। हड्खलेले भने, “समुदाय, आयोजना र क्याम्पसबीचको सहकार्यबाट साइरन जडान गरिएको हो । यो समुदायमा एउटा उदाहरणीय काम पनि हो।”

बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका साइरन जडान गरिएको आयोजना कार्यालयले जनाएको छ। नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेलगायत काम गरिरहेका सर्वसाधारणलाई साइरनले पूर्वसूचित गर्ने आयोजनाका प्रमुख भण्डारीले बताए। रासस

प्रकाशित: १४ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया