
काठमाडौं ।
दक्षिणपूर्वी एसियाली स्मार्टफोन मार्केटको बारेमा क्यानालिसको पछिल्लो बजार प्रतिवेदनले यस वर्षको पहिलो त्रैमासिकमा वार्षिक रूपमा १२ प्रतिशतले वृद्धि भएको देखाएको छ। यो वृद्धि कठिन २०२३ पछि रिकभरीको पहिलो संकेत भएको विश्लेषकहरूले अनुमान गरेका छन्।
स्मार्टफोन निर्माताहरूले २३.५ मिलियन एकाइहरू ढुवानी गरेतापनि तिनीहरू अझै पनि २०२३ अघिको स्तर भन्दा तल भएको उल्लेख छ।
इन्डोनेसिया र मलेसिया जस्ता केही बजारहरूमा रमदानका कारण पहिलो त्रैमासमा यो सफलता देखिएको जनाइएको छ। त्यसैगरी ट्रान्सन जस्ता अन्य कम्पनीहरूले फिलिपिन्स र इन्डोनेसिया लगायतका बजारहरूबाट लाभ उठाएको र १०० अमेरिकी डलर खण्डहरूले पुनरुत्थान देखेको रिपोर्टमा भनिएको छ।
सामसङको सिपमेन्ट (ढुवानी) भोल्युम वार्षिक दरमा २० प्रतिशतले घटेपनि १९ प्रतिशत मार्केट सेयर (बजार साझेदारी) को साथ अग्र स्थानमा रहेको छ। यद्यपि, कोरियाली टेक जायन्टले बिस्तारै मिड–रेञ्ज (मध्य–दायरा) र हाई–इन्ड खण्डहरूमा बढी ध्यान केन्द्रित गर्दै आफ्नो रणनीतिलाई परिवर्तन गरिरहेको उल्लेख छ। उपभोक्ताहरूले निकट भविष्यमा हाई–इन्ड स्मार्टफोनहरू खोज्ने प्रवृत्ति रहने कम्पनीले विश्वास व्यक्त गरेको रिपोर्टमा उल्लेख छ।
आफ्नो सब–ब्रान्डहरू इन्फिनिक्स, टेक्नो र आईटेलका साथ ट्रान्ससनले १८ प्रतिशत मार्केट सेयर र प्रभावशाली १९७ प्रतिशतको वार्षिक वृद्धि रेकर्ड गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ। यसले ओप्पो र शाओमी जस्ता कम्पनीहरूलाई पनि पछाडि पारेको छ।
शाओमीले यो त्रैमासिकमा बिक्रीतर्फ उल्लेखनीय ५२ प्रतिशत वृद्धि देखेको छ भने ओप्पोले वार्षिक रूपमा १२ प्रतिशत गिरावाट देखेको छ।
विश्लेषकहरू भविष्यप्रति आशावादी रहेको र सन् २०२४ मा ४ प्रतिशतले कुल बजार वृद्धि हुने भविष्यवाणी गरेतापनि अस्थिर मुद्रा, कम्पोनेन्ट कस्ट (लागत) र अन्य अस्थिर कारकहरुमा अनिश्चितताले भविष्यमा बजारको वृद्धिलाई रोक्न सक्ने आशंका गरिएको छ।
यसैले कुशल आपूर्ति श्रृंखला र स्वस्थ सूची भएका विक्रेताहरूले यी सर्तहरूबाट लाभ उठाउने जीएसएमएरिनाले प्रतिवेदनलाई उदृत गर्दै रिपोर्टमा भनेको छ।

प्रकाशित: १२ जेष्ठ २०८१, शनिबार