थ्रीजी मोबाइल नेटवर्क बन्द गर्ने अष्ट्रेलियाको घोषणा

Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार

काठमाडौं ।

अस्ट्रेलियन कम्युनिकेसन्स एण्ड मिडिया अथोरिटी (एसीएमए) ले बुधबार थ्रीजी नेटवर्क पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। यसअघि टीपीजी टेलिकम (भोडाफोनको रूपमा पनि चिनिने) ले आफ्नो नेटवर्क बन्द गरिसकेको छ भने अन्य दुई क्यारियरहरूले पनि साढे ३ महिनासम्ममा आफ्नो सेवा बन्द गर्ने योजनामा रहेको उल्लेख छ।

नियामकले आफ्नो वेबसाइटमा एक संक्षिप्त बयानमार्फत टेलेस्ट्रा र ओप्टसले सन् २०२४ मा तिनीहरूको थ्रीजी मोबाइल नेटवर्कहरू बन्द गर्ने उल्लेख गरेको छ। टेलस्ट्राले अगस्ट ३१ तारिखमा आफ्नो नेटवर्कलाई निष्क्रिय गर्ने योजना बनाएको छ भने त्यसपछिका दिनहरूमा ओप्टसले यस कार्यलाई पछ्याउने छ।

त्यसैगरी एसीएमएले थ्रीजी डिभाइसहरू भएका प्रयोगकर्ताहरूलाई उनीहरूको फोनले आपतकालीन नम्बर ००० (ट्रिपल जीरो) सहित मेसेजेस (सन्देशहरू) पठाउन वा कलहरू गर्न सक्षम नहुने बताएको छ।

यसबाट थ्रीजी नेटवर्कमार्फत भ्वाइस कल गर्ने फोरजी डिभाइसहरू भएकाहरू (भोल्टे समर्थन नभएका फोनहरू) पनि प्रभावित हुने जनाइएको छ।

एसीएमएका अनुसार, धेरैजसो जोखिममा रहेका डिभाइसहरु विदेशमा खरिद गरिएका पुराना फोरजी ह्यान्डसेटहरू हुन्।

अस्ट्रेलियन मोबाइल टेलिकम्युनिकेसन्स एसोसिएसन (एएमटीए) ले फोन मात्र नभई सबै थ्रीजी डिभाइस प्रभावित हुने बताएको छ। यसमा ट्याब्लेटहरू, स्मार्टवाचहरू, ईएफटीपीओएस मेसिनहरू (कार्ड टर्मिनलहरू), मेडिकल अलार्महरू र अन्य व्यक्तिगत आपतकालीन प्रतिक्रिया समाधानहरू समावेश रहेका छन्।

एएमटीएले प्रयोगकर्ताहरूलाई तत्काल नै एक्सनमा आउन र सेवाको अवरोधहरू रोक्नका लागि नयाँ समाधानहरूमा माइग्रेट गर्न आग्रह गरेको छ। यस बाहेक, पुरानो मोबाइल फोनहरूको निः शुल्क रिसाइक्लिङको लागि आधिकारिक कार्यक्रम पनि रहेको जानकारी दिएको छ।

साथै थ्रीजी नेटवर्कहरू बन्द भएपछि तिनीहरू अनिवार्य रूपमा खारेज हुने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया