Technology Khabar १ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।
सरकारले भू-सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक तयार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गरेको आगामी वर्षको सरकारको नीति तथा कार्यक्रममा यस्तो नीति लिइएको हो।
आवास एकीकरणसमेत गरी सम्भाव्य घनाबस्तीमा न्यूनतम खुला क्षेत्रसहितको आधारभूत भौतिक तथा सामाजिक पूर्वाधार निर्माण गर्ने नीतिगत व्यवस्था गरिने भएको छ। देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागू गरिने सरकारको कार्यक्रम छ।
निजी क्षेत्रले समेत जग्गा विकास कार्यक्रम सञ्चालन गर्नसक्ने नीतिगत व्यवस्था गर्न लागिएको छ। नगर विकास कोषको पुनःसंरचना गरी सहलगानीमा सहरी पूर्वाधार निर्माण गरिने भएको छ। भौगोलिक रूपमा विकट, छरिएर रहेका र विपद्को उच्च जोखिमयुक्त स्थानका बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरण हुन प्रोत्साहित गर्ने सरकारको नीति छ। रासस
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार