सरकारको लगानी भएको भौतिक उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्ध गराइने

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

काठमाडौं ।

अबदेखि स्थानीय सरकारको लगानीबाट प्राप्त भौतिक उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध हुने भएको छ। अहिलेसम्म स्थानीय सरकारको लगानी भएका विकास निर्माण र सेवा प्रवाहका कुनै पनि उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध हुन नसक्दा स्थानीय सरकारको लगानी राष्ट्रिय प्रणालीको अभिलेखभन्दा बाहिर रहँदै आएको थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहमा भएका उपलब्धिलाई एकीकृत गरी उक्त उपलब्धिलाई सङ्घीय सरकारको राष्ट्रिय प्रणालीसँग आबद्धता गराउनका लागि स्थानीय तहको प्रगति तथा अनुगमन प्रणाली तयार गरी कार्यान्वयनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव सुमन दाहालले स्थानीय तहको प्रगति अनुगमन तथा प्रणाली तयार गरी सङ्घीय सरकारको प्रणालीमा आउने गरी प्रणाली निर्माण गरिएको बताए।

उनका अनुसार स्थानीय सरकारको लगानीमा भएका खानेपानी निर्माण, सडक, सामुदायिक विद्यालयका भवन, ढल निर्माणलगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास सोबाट रोजगारको सिर्जनालगायतका उपब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध भई सङ्घीय सरकारसँग अभिलेखीकरण हुने छ।

स्थानीय तहले अनिवार्य रूपमा सम्पादन गरेका कार्यको तथ्याङ्क भने अद्यावधिक तथा नियमित रूपमा प्रणालीमा प्रविष्ट भने गर्नुपर्ने छ । उनले भने, “प्रणाली सञ्चालनका क्रममा कुनै समस्या आए मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्दै जाने छ ।”

अहिले स्थानीय तहको उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्धता गर्न नसक्दा सङ्घीय र प्रदेश सरकारले स्थानीय तहमा पठाएको स्रोतसाधन र जनशक्तिको उपलब्धि के के भए भन्ने अभिलेखीकरण नहुँदा सरकारले एकमुस्ट रूपमा मानवीय र भौतिक विकासका पूर्वाधारको तथ्याङ्क दिन सक्ने अवस्था थिएन ।

यस प्रणाली निर्माणले स्थानीय तहको भौतिक र वित्तीय प्रगतिको समीक्षा हुने, अहिले जिल्ला समन्वय समितिबाट भइरहेको अनुगमन प्रणालीलाई थप सहयोग पुग्ने, स्थानीय सरकारको लगानीमा भएको उपलब्धि राष्ट्रिय प्रणालीमा आबद्धता हुने स्थानीय तहको प्रगति तथा अनुगमन प्रणाली कार्यविधिमा उल्लेख गरिएको छ। गोरखापत्रबाट

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया