आइस्पानले भन्यो- स्वदेशी इन्टरनेट सेवा प्रदायकहरुलाईनै सहजीकरण हुँदैन्, कसरी विदेशी लगानी ल्याउने’

Technology Khabar १६ बैशाख २०८१, आईतवार

काठमाडौं ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले लगानी सम्मेलनको अवसरमा देशभित्र अर्बौं रुपैयाँ लगानी गरेर सेवा संचालन गर्दै आएका इन्टरनेट सेवा प्रदायकहरुलाई समेत विशेषरुपमा हेर्न माग गरेको छ।

आइस्पानका महासचिव नविन श्रेष्ठद्वारा शनिवार जारी गरिएको विज्ञप्तीमा लगानी सम्मेलनको अवसरमा स्वदेशी लगानीकर्ताहरुको मनोबल पनि उच्च पारिदिन सरकारलाई विशेष आग्रह गरिएको छ।

“देशभित्रै राज्यको कुनै सुरक्षा र सहयोग बिना आफैँले जोखिम उठाउदै बैंकमा आफ्नो भएगरेको जायजेथा राखेर अर्बौं लगानी गरी हजारौंलाई रोजगारी दिइरहेको इन्टरनेट क्षेत्रलाई विशेष रुपमा हेरिनु पर्दछ,” विज्ञप्तीमा भनिएको छ, “विदेशी लगानीकर्ताले अन्य देशमा लगानी गर्नुभन्दा पहिले देशकै स्वदेशी उद्योगी व्यावसायीहरुमार्फत आफ्नो लगानीको सुनिश्चितताका लागि राज्यको नीति, व्यवसायीहरुलाई गरिने व्यवहार र प्रदान गरिने सेवाहरु बुझेर मात्रै लगानी गर्ने कुरा अन्तर्राष्ट्रिय जगतमा चलिआएको पद्धति पनि हो। जुन हाम्रो जस्तो मुलुकमा अझ बढी सान्दर्भिकता राख्दछ।”

यसैगरी उनीहरुले चर्को करका साथै राज्यले सहजीकरण नगरिरहेको अवस्थामा कसरी विदेशी लगानी आउँछ भन्ने प्रश्न समेत गरेका छन्।

आइस्पानको विज्ञप्तीमा भनिएको छ, “आज हामी राज्यको चर्को र उच्चदरको करको मारमा परेको अवस्था, हाम्रो व्यावसाय संचालनको लागि राज्यले गर्ने सहजीकरणको कुनै आभास नै नभएको अवस्थामा विदेशी लगानिकर्ताहरुले व्यावसायिक माहोलको बारेमा चासो राखेको खण्डमा उनीहरूलाई हाम्रो मुलुकमा लगानी गर्नको लागि कसरी सकारात्मक बनाउने भन्ने कुराको हामी अन्यौलमा छौँ।”

सेवा प्रदायकहरुले राज्य र सरकारलाई सदैव, हरेक कोणबाट सहयोग गरिनै रहेको र आउने दिनमा पनि गरिनै रहने छौँ भन्ने कुरामा प्रतिवद्दता जनाएका छन् ।

यसका साथै उनीहरुले आफ्नो व्यावसाय निरन्तर संचालन गर्न दिनानुदिन भोगिरहेका अनेक समस्याहरु निराकण गरिदिन समेत माग गरेका छन्।

आइस्पानले हामी देशैभरी अत्यावश्यक ईन्टरनेट सेवा प्रदान गर्दै डिजिटल फाउन्डेसन र सरकारको परिकल्पना डिजिटल नेपाललाई सार्थक बनाउने एक मजबुत खम्बा भएको भन्दै “हामी राज्यलाई वार्षिक अर्बौं रुपैयाँ कर तिरेर समृद्ध राष्ट्र निर्माणको अभियानमा अटुट रुपमा लागिपरेका छौँ भने हजारौं जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छौँ।” उल्लेख गरेको छ।

हेर्नुस् विज्ञप्ती-

प्रेस बिज्ञप्ति नेपाल सरकारलाई ‘ नेपाल लगानी सम्मेलन- २०२४’ को सफलताको हार्दिक शुभकामना !! (1) (1)

प्रकाशित: १६ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया