
काठमाडौं ।
काठमाडौं । विश्वको सबैभन्दा ठूलो संजाल भएको सोसल साइट फेसबुकले प्रयोगकर्ताहरुको डाटा बाँडेको तथ्य सार्वजनिक भएको छ । हालै फेसबुकले केहि कम्पनीहरुसँग डाटा एक्सेसको लागि सहमति गरेको स्वीकार गरेको छ।
फेसबुकले चार चिनियाँ कम्पनीहरुसँग प्रयोगकर्ताहरुको डाटा एक्सेसको लागि साझेदारी गरेको स्वीकार गरेको हो । यसअघि फेसबुकले विभिन्न ६० कम्पनीहरुसँग डाटा एक्सेसको लागि साझेदारी गरेको आरोप लाग्दै आएको छ।
फेसबुकले चिनियाँ कम्पनीहरु ह्वावे (Huawei), ओपो(Oppo), लेनोभो(Lenovo) र टीसीएल(TCL) सँग डाटा एक्सेसको अनुमति दिएको स्वीकार गरेको छ । यी चार कम्पनीहरुले फेसबुकका साथमा एक साझेदारी गरेका थिए, जसअन्तरगत सामाजिक संजाल साइटको सबैभन्दा लोकप्रिय यूजर्स अर्थात सबैभन्दा धेरै फेसबुक चलाउने प्रयोगकर्ताहरुलाई आफ्नो मोबाइलमा ल्याउने थियो । ह्वावे विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीसमेत हो।
उनीहरुलाई फेसबुकको यूजर्स एक्सपेरियन्सको लागि डाटा एक्सेसको अनुमति दिईएको बताईएको छ ।
फेसबुकले डाटा सेयर गरेको विषयमा अमेरिकी सुरक्षा अधिकारीहरुले जाँच शुरु गरेका छन् । ह्वावेको बारेमा यसअघि नै अमेरिकामा अनुसन्धान भईरहेको छ भने ह्वावेको मोबाइल फोन अमेरिकी बजारमा प्रतिबन्धित रहेको छ ।
न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टपछि अमेरिकी कंग्रेसका सदस्यहरुले यो मुद्धा उठाउँदै यूजर्सको साथीहरुको डाटा उनीहरुको अनुमति बिना नै लिनसकिने अवस्थामा रहेको दाबी गरेका थिए । तर फेसबुकले भने यो विषयलाई नकार्दै मोबाइल डिभाइसहरुमा फेसबुकको एकाउन्ट फीचरहरुको पहुँचका लागि मात्र अनुमति दिईएको दाबी गरेको छ ।
फेसबुककाअनुसार यसअघि समझदारी भएकोमध्ये आधाभन्दा बढि कम्पनीसँगको सहकार्य रद्ध गरिएको छ भने ह्वावेसँगको सम्झौता यो सातासम्ममा सकिनेछ । त्यसैगरि ओपो, लेनोभो र टीसीएससँगको सम्झौता पनि रद्ध गर्न लागेको छ ।
अमेरिकी इन्टेलिजेन्स कमिटीका उपाध्यक्ष मार्क वार्नरले चिनियाँ कम्पनीहरुसँगको डाटा एक्सेसले फेसबुकले चिनियाँ सर्भरहरुमा प्रयोगकर्ताहरुको डाटा पुगेको छैन भन्ने कसरी सुनिश्चित गर्दछ भन्ने सवाल उठाएका छन् ।
यो विषयमा फेसबुकका सीईओ मार्क जुकरवर्गले आधिकारीकरुपमा नै बोल्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार