सामसङको नाफा ९०० प्रतिशतभन्दा बढीले बढ्ने

Technology Khabar २४ चैत्र २०८०, शनिबार

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले सन् २०२४ को पहिलो तीन महिनामा आफ्नो नाफा एक वर्ष अघिको तुलनामा १० गुणाले बढ्ने अपेक्षा गरेको छ।

चिप्सको मूल्य महामारी पछि आएको मन्दीबाट माथि उठेको छ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित उत्पादनहरूको बढ्दो मागको सामसङको नाफा झल्केको हो।

दक्षिण कोरियामा आधारित सामसङ मेमोरी चिप, स्मार्टफोन र टेलिभिजनको विश्वको सबैभन्दा ठूलो निर्माता हो।

कम्पनीले ३० अप्रिलमा विस्तृत वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

टेक्नोलोजी जायन्ट जनवरी–मार्च त्रैमासमा आफ्नो सञ्चालन नाफा ६.६ ट्रिलियन वन (४.९ बिलियन अमेरिकी डलर) पुग्ने अनुमान गरेको छ। यो २०२३ को सोही अवधिको तुलनामा ९३१ प्रतिशत बढी भएको बीबीसीले लेखेको छ। विश्लेषकहरुले कम्पनीको नाफा ५.७ ट्रिलियन वन हुने अपेक्षा राखेका थिए।

एक वर्ष अघि आएको गम्भिर गिरावट पछि विश्व बजारमा सेमीकन्डक्टर मूल्यमा देखिएको छलाङले बढ्ने अपेक्षा गरिएको छ।

सामसङको सेमीकन्डक्टर डिभिजन सामान्यतया फर्मको लागि सबैभन्दा धेरै राजस्व जुटाउने गर्छ।
एआई टेक्नोलोजीको बढ्दो प्रयोगले यस वर्ष पनि सेमीकन्डक्टरहरूको माग बलियो रहने अपेक्षा गरिएको छ।

३ अप्रिलमा ताइवानमा आएको भूकम्पले चिप्सको विश्वव्यापी आपूर्तिलाई प्रभावित पार्न सक्छ, जसले सामसङलाई थप मूल्य बढाउन अनुमति दिन सक्छ।

ताइवान टीएसएमसी लगायत धेरै प्रमुख चिप निर्माताहरूको घर हो। टीएसएमसी एप्पल र एनभिडियोको प्रमुख आपूर्तिकर्ता मध्ये एक हो।

यद्यपि टीएसएमसीले भूकम्पबाट आफ्नो उत्पादनमा ठूलो प्रभाव नपरेको बताएको छ तर पनि कम्पनीको सञ्चालनमा भने अवरोध देखिएको छ।

सामसङले जनवरीमा लन्च गरिएका नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२४ स्मार्टफोनको बिक्रीबाट पनि बढोत्तरी पाउने अपेक्षा गरेको छ।

 

प्रकाशित: २४ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया