ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर एसइई परीक्षामा चिट चोराउने पाँच पक्राउ

  • Technology Khabar | २१ चैत्र २०८०, बुधबार
ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर एसइई परीक्षामा चिट चोराउने पाँच पक्राउ

काठमाडौं ।

एसइई परीक्षामा चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने लोटस इंग्लिश मिडियम हाइस्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए-वान कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानी, दिलीप बिक र सन्तोष नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नेपालगञ्जको जिभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले यी ग्रुपमा चिट बनाएर पठाउने गरेका थिए। विज्ञान विषयको प्रश्नपत्र एक जना शिक्षकले ७ बजेर २७ मिनेटमै फोटो खिचेर चिट बनाउने ग्रुपका सदस्यलाई पठाएको पनि भेटिएको छ।

परीक्षाको मर्यादा विपरीत चिट चोराउने कार्यमा संलग्न देखिएपछि ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष गणेश भण्डारीसहितको टिमलाई परिवर्तन गरिएको छ।

अनुगमन टोलीले ५ थान मोबाइल, एउटा ल्यापटप, गाइड र सोलुसन बुक, केही मोबाइल नम्बर उल्लेख भएको कागजात समेत बरामद गरेको छ।

नियन्त्रणमा लिइएका उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...