सरकारी कार्यालयमा थन्किएका पुराना गाडीलाई ईभीमा कन्भर्जन गर्न सांसद निसा डाँगीको माग

  • Technology Khabar | २० चैत्र २०८०, मंगलवार
सरकारी कार्यालयमा थन्किएका पुराना गाडीलाई ईभीमा कन्भर्जन गर्न सांसद निसा डाँगीको माग

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निसा डाँगीले सरकारी कार्यालयमा थन्किएका पुराना गाडीलाई ईभीमा कन्भर्जन गर्नु पर्ने बताएकी छिन्। सांसद डाँगीले मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारी कार्यालयमा रहेका पुराना सवारी साधन ईभीमा कन्भर्जन गर्नु पर्ने बताएकी हुन्।

‘सरकारी कार्यालयमा हेर्ने हो भने सवारी साधनहरु व्यवारिसे अवस्थामा राखिएका छन्। कवाडीमा पुगेर कौडीको भाउमा कहिले बेचिन्छन् थाहा छैन। सामानको मोल चिन्ने हो भने त्यस्ता पुराना पेट्रोलियम सवारीलाई विद्युत सवारीमा रुपान्तरण गर्न सकिन्छ,’ उनले भनिन्। ती सवारीलाई विद्युतीयमा परिणत गर्ने हो भने देश भित्र उत्पादन भएको विद्युत खपत गर्न सहयोग पुग्ने उनको दाबी छ।

साथै उनले २०७८ चैत ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा उर्जा क्षमता मुलुक फेरबदल गर्न तीन वर्षसम्मको लागि छुट दिने व्यवस्था गर्ने सूचना राजपत्रमा प्रकाशित गरेको सभामुखलाई पुनस्मरण गराइन्।

पेट्रोल र डिजल सवारीलाई विद्युतिय वा वैकल्पिक इन्धनबाट चल्ने सवारीमा रुपमान्तरण गर्न दिने गरी बनेको त्यो व्यवस्थाको कार्यान्वय कहिलेसम्म हुने भन्ने अहिलेसम्म अत्तोपत्तो नभएकोमा उनले गुनासो व्यक्त गरिन्। यसका लागि प्रयाप्त कार्यविधि र स्पष्ट कानुन कहिले बन्ने भन्दै सरकारसँग प्रश्न गरिन्।

कानुनको अस्पष्टता देखाएर नयाँ स्टार्टअपलाई कहिलेसम्म रोक्ने भन्दै उनले थोरै लगानीमा धेरै लाभ लिन सक्ने ईभी कन्भर्जनको उचित सम्भाव्यता प्रयावरण र लागत अध्ययन गरेर आवश्यक मापदण्ड कार्यविधि र स्पष्ट कानुन छिट्टै ल्याउन सरकारसँग आग्रह गरिन्।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...