Technology Khabar २० चैत्र २०८०, मंगलवार
काठमाडौं ।
सरकारले हरेक वर्ष मे २ तारिखमा मनाईँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रदान गरिने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको लागि आवेदन माग गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचनामार्फत नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा सङ्घसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न ७ विधाहरूमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२४ प्रदान गर्ने जनाएको छ।
“नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रूपमा मनाउँदै आइरहेको छ। उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुयाउने व्यक्ति तथा सङ्घसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई तपसिलका विधाहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२४ प्रदान गर्ने कार्यक्रम रहेको… छ,” सूचनामा भनिएको छ।
जसअनुसार नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४, नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ (महिला), नेशनल आईसीटी इन्नोभेसन अवार्ड २०२४, नेशनल आईसीटी अवार्ड २०२४ (सार्वजनिक क्षेत्र), नेशनल आईसीटी अवार्ड २०२४ (निजी क्षेत्र), नेशनल आईसीटी अवार्ड २०२४ (निजी क्षेत्र-प्रदेशस्तरीय), नेशनल आईसीटी स्टार्टअप अवार्ड २०२४ विद्यामा अवार्ड दिईने बताईएको छ।
इच्छुक आवेदकले फाराम भरेर २०८१ साल वैशाख ४ गते बेलुका ५:०० बजेभित्र इमेल मार्फत वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार