अनलाइन सपिङ र लट्ट्रीको नाममा ठगी गर्ने तीन चिनियाँ नागरिक पक्राउ

Technology Khabar १९ चैत्र २०८०, सोमबार

काठमाडौं ।

पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। अनलाइन सपिङ र लट्ट्री जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाती तथा विदेशीलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्।

वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो। सो फ्ल्याटबाट दुई चिनियाँ पक्राउ परेका थिए। साथै सयौँ कम्प्युटरसहितका विभिन्न उपकरण पनि बरामद भयो । शनिवार राति नै थप एक चिनियाँलाई पक्राउ गरिएको थियो।

पर्सा प्रहरी अनुसार ती चिनियाँको कार्यालयबाट कम्प्युटर डेक्सटप सिपियू १२० थान, मनिटर ११८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, बाइफाई राउटर २ थान र मिनि इन्भर्टर २ थान बरामद भएको छ।

प्रहरीका अनुसार प्रिन्टर १ थान, विभिन्न बैंकहरूका एटिएम कार्ड ३ थान, भारतीय नम्बर प्लेट बिआर ०१ सिएक्स ५७९२ र प्र २–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल बरामद भएको छ । बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका ४३ हजार र कम्बोडियन ३५ सय) समेत बरामद भएको छ।

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया