भारतको मेरठमा मोबाइल चार्ज गर्ने क्रममा विस्फोट हुँदा घरमा आगलागी, चार बालबालिकाको मृत्यु

Technology Khabar १२ चैत्र २०८०, सोमबार

भारतको मेरठमा मोबाइल चार्ज गर्ने क्रममा विस्फोट हुँदा घरमा आगलागी, चार बालबालिकाको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं ।

भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लास्थित पल्लवपुरम थाना क्षेत्रस्थित एक घरमा मोबाइल चार्ज गर्ने क्रममा शर्ट सर्किट हुँदा विष्फोट हुँदा घरमा आगो लागेको छ। आगलागीमा परी चार बालबालिकाको मृत्यु भएको छ भने आमाबुवा गम्भीर रूपमा जलेका छन्।

पल्लवपुरम थाना क्षेत्रको जनता कालोनीमा रहेको जोनी नामका एक व्यक्तिको घरमा शनिबार राति मोबाइल चार्ज भइरहेको बेला सर्ट सर्किटका कारण आगलागी भएको एक प्रहरी अधिकारीले आइतबार बताएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

आगलागीले केही बेरमै यति गम्भीर रूप लिएको थियो, जसमा जोनी, उनकी श्रीमती बबिता र चार छोराछोरी सारिका (१०), निहारिका (८), संस्कार उर्फ ​​गोलु (६) र कालु (४) गम्भीर रूपमा जलेको उनले बताए।

सबैलाई मेडिकल कलेजमा भर्ना गरिएको थियो जहाँ निहारिका र गोलुको राति मृत्यु भएको थियो भने सारिका र कालुको आइतबार बिहान मृत्यु भएको थियो।

अधिकारीले जोनीको अवस्था खतरामुक्त रहेको तर बबिताको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उनलाई दिल्ली एम्समा रिफर गरिएको बताएका छन् ।

समाचारअनुसार, निहारिका, गोलु र कालु मोबाइलमा गेम खेलिरहेका थिए र त्यही क्रममा मोबाइल पनि चार्ज भइरहेको जोनीले बताए। सो क्रममा सर्ट सर्किटका कारण आगलागी भएको र केही बेरमै आगलागीले ठूलो रुप लिएको उनले बताए।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया