Technology Khabar ९ चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
नेपाल बेस स्टेशन (बीटीएस)को आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्को वैदेशिक व्यापारको तथ्यांक अनुसार ४ करोड २० लाख ४२ हजार बराबरको बेस स्टेशन आयात भएको छ।
यस अवधिमा १९६ यूनिट बेस स्टेशन आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड ४ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १५६ यूनिट बेस स्टेशन आयात भएको थियो।
गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा बेस स्टेशनको आयात ४ करोड ८४ हजार ८ हजार रुपैयाँ अर्थात ५३.५३ प्रतिशतले घटेको छ।
यस्तै बेस स्टेशनको आयात ९६० यूनिटले घटेको देखिन्छ।
चालु आवको फागुन मसान्तसम्म सरकारले बेस स्टेशनको आयात मार्फत ४२ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ६ मुलुकबाट बेस स्टेशन आयात हुने गरेको देखिन्छ।
नेपालमा संख्याको आधारमा भारत र रकमको आधारमा चीनबाट सबैभन्दा धेरै बेस स्टेशन आयात हुने गरेको छ।
चीनबाट २ करोड २५ लाख ६० हजार रुपैयाँ बराबरको ७७ यूनिट बेस स्टेशन आयात भएको छ।
भारतबाट १ करोड ९ लाख ४७ हजार रुपैयाँ बराबरको ८७ यूनिट बेस स्टेशन आयात भएको छ।
अस्ट्रेलियबाट ५९ लाख ५६ हजार रुपैयाँ बराबरको १० यूनिट बेस स्टेशन आयात भएको छ।
फ्रान्सबाट ११ लाख १२ हजार रुपैयाँ बराबरको एक यूनिट बेस स्टेशन आयात भएको छ।
जमर्नीबाट १३ लाख १६ हजार रुपैयाँ बराबरको १५ यूनिट बेस स्टेशन आयात भएको छ।
हंगेरीबाट १ लाख २५ हजार रुपैयाँ बराबरको ५ यूनिट बेस स्टेशन आयात भएको छ।
मलेसियाबाट २६ हजार रुपैयाँ बराबरको एक यूनिट बेस स्टेशन आयात भएको छ।
के हो बेस स्टेशन?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
किन आउँछन् बीटीएस उपकरण?
दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदण्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।
यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।
यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।
त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र साथै नेपाल टेलिकम फाइभजीको परीक्षण सेवा शुरु गर्ने योजनामा रहेकाले बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार