लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्ट बिच सहकार्य गर्ने समझदारी

  • Technology Khabar | १५ फाल्गुन २०८०, मंगलवार
लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्ट बिच सहकार्य गर्ने समझदारी

काठमाडौं ।

सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबिच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ।

फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवं भुटान हेर्ने निर्देशक योसुप फारुखबिच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउण्डेशनका अध्यक्ष जालानबिच शैक्षिक सहकार्यको समझदारी बनेको कलेजले जनाएको छ।

फाउण्डेशनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ। सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ।

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए। विद्यार्थीलाई पढ्दै कमाउँदै नीतिलाई फाउण्डेशनले व्यवहारिक कार्यान्वयन गर्दै आएको उनको भनाई छ ।

माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैँ रहने बताए। औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पुरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताएको उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...