रोबोटिक्स र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न काठमाडौं विश्वविद्यालयले ‘आविष्कार २४’ आयोजना गर्ने

Technology Khabar १२ फाल्गुन २०८०, शनिबार

काठमाडौं ।

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (केयूआरसी) ले रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे जानकारी दिन र नवप्रवर्तनलाई बढावा दिने उद्धेश्यले दुई दिने कार्यक्रम, “आविष्कार २४” आयोजना गर्ने भएको छ।

आगामी मार्च १२ र १३ मा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेल काभ्रेमा आयोजना हुने यस आविष्कार २४ मा ३ सय बढी उत्साही प्रतियोगीहरू, ४० बढी नवीन परियोजनाहरू प्रदर्शन गर्ने र ३० भन्दा बढी विद्यालय र कलेजका प्रतिनिधि तथा पूर्व प्रतिनिधिहरूसहित ४ हजार बढी उत्साही सहभागीहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको जानकारी दिएको छ।

आयोजकका अनुसार रोबोटिक्स प्रदर्शनीका सहभागीहरूले प्रतिस्पर्धा गर्न सक्ने पाँच ओटा मुख्य कार्यक्रमहरू राखेको छ।

अक्वाबोट

सरसफाइ रोबोट प्रतियोगिता आविष्कार २४ अन्तर्गतको एक प्रतियोगिता हो। यस प्रतियोगिताको मुख्य उद्धेश्य ताल वा खोला जस्ता जलाशयमा रहेको फोहोर सफा गर्नु हो। यस प्रतियोगितामा सहभागी हुने रोबोटले पानीको सतहबाट फोहोर निकालेर फाल्नुपर्ने हुन्छ।

आइडीएसन

आइडियामा आधारित यस प्रतियोगिताले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एउटा टेबलमा ल्याई मन्त्रिपरिषद्मा जस्तै आपसी छलफलबाट समाधान समाधानको मस्यौदा तयार गर्नेछ। यो कार्यक्रम विभिन्न समस्याहरुमाथि छलफल गरी निर्णय लिन छलफलमा सहभागीहरुलाई मार्गदर्शन गर्ने उद्धेश्यले डिजाइन गरिएको हो।

हार्डवेयर ह्याकाथन

यो कार्यक्रम ज्यादै सिर्जनशील र प्राविधिक ज्ञान भएका दिमागहरू र नवप्रवर्तनहरुका लागि उर्वर स्थल हो । यस कार्यक्रमका सहभागीहरूले सकेसम्म चाँडो पूर्ण रूपमा नयाँ र अद्वितीय कुराहरू सिर्जना गर्ने प्रयास गर्ने छन्।

प्रोजेक्ट डेमोस्ट्रेसन

परियोजना प्रदर्शन एउटा खुला प्रतिस्पर्धा हो जहाँ सहभागीहरूले विशेष मानवीय कार्यहरू गर्न सक्षम हुने परियोजनाको साथ प्रस्तुत हुनुपर्ने छ। सहभागीहरूले आफ्ना परियोजनाहरू निर्णायक र दर्शकका अगाडि प्रदर्शन गर्नुपर्नेछ र निर्णायक तथा अवलोकनकर्ता दर्शकको मतबाट विजेता चयन गरिने छ।

रोबोरेस

रोबोरेस वायरलेस रोबोटहरू बीचको प्रतिस्पर्धा हो, जहाँ अवरोधहरू भएको ट्रयाकमा रोबोटहरु दौडिने छन् । अवरोधहरुमा भूलभुलैया, झोलुङ्गे पुल, बालुवा, डाँडा, खोल्सा लगायत हुनेछन् । अधिकतम् अंकसहित ट्रयाक दौड पुरा गर्ने शीर्ष ६ वटा रोबोट अन्तिम दौडका लागि योग्य हुनेछ भने अन्तिम दौडमा सर्वाधिक अंक प्राप्त गर्ने रोबोटलाई विजेता घोषणा गरिने छ ।

इनोभेसन नेक्सस

इनोभेसन नेक्सस आविष्कार २४ को मूख्य सिद्धान्त हो । यस सिद्धान्तले रचनात्मक विचारहरू, सपनाहरू र महत्वाकांक्षाहरूको महत्वलाई बढावा दिने र समर्थन गर्ने गर्दछ। यो कार्यक्रमको उद्धेश्य रोबोटिक्स, टेक्नोलोजी र नवप्रवर्तनको बारेमा लगन तथा चासो भएका व्यक्तिहरूलाई नेटवर्किङ गरी उनीहरुबीच सहकार्य र विचारको आदानप्रदान गराउनु हो।

यी कार्यक्रमहरुका अतिरिक्त आविष्कार २४ मा सूचना प्रविधि र आविष्कारका बारेमा अन्य रमाइला कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया