‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्ति’ सम्मेलन पोखरामा

  • Technology Khabar | १० फाल्गुन २०८०, बिहीबार
‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्ति’ सम्मेलन पोखरामा

काठमाडौं ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र गण्डकी प्रदेश, विज्ञान तथा प्रविधि प्रष्ठिान(जिपास्ट) को संयुक्त आयोजनामा बिहीबारदेखि पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखा परेका प्रवृत्ति’ विषयक सम्मेलन हुने भएको छ।

सम्मेलन सम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाटमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका प्रमुुख प्रा विनोदप्रसाद हेज्युले विज्ञान र प्रविधिका क्षेत्रमा आफ्ना ज्ञान, सीप, अनुसन्धानका नतिजा र अनुभव आदानप्रदान तथा प्रचारप्रसार गर्न वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षाविद् र विद्यार्थीलाई एकैसाथ भेला गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा डा दिलीप सुब्बाको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनको प्रमुख वक्ता नोबेल पुरस्कार विजेता वैज्ञानिक रिचर्ड जोन रोबर्ट्स र वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमाल रहने छन्।

सम्मेलनमा प्रमुख वक्तासहित देश विदेशका करिब दुई सय ५० अनुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वको सहभागिता हुने र विभिन्न प्राज्ञिक व्यक्तित्वसहित विषयगत ७६ वटा प्रस्तुतिका साथै ३० वटा पोष्टर प्रदर्शन गरिने सम्मेलनका सदस्य सचिव डा विष्णुप्रसाद देवकोटाले जानकारी दिए।

सम्मेलनमा कृषि, पशु, मत्स्य तथा खाद्य विज्ञान, जैविक विज्ञान, इन्जिनियरिङ र प्रविधि, वन, जैविक विविधता, वातावरण र जलवायु विज्ञान, स्वास्थ्य र चिकित्सा विज्ञान, अन्तरविषय विज्ञान, नीति इन्टरफेस विज्ञान, नैतिकता विज्ञान, शिक्षा र सञ्चार, गणित, तथ्याङ्क र डाटा विज्ञान, भौतिक विज्ञान सम्बन्धमा विषयगत क्षेत्रसित सम्बन्धित अनुसन्धानका नतिजाबारे प्रस्तुति तथा छलफल गरिने बताइएको छ। रासस

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...