Technology Khabar २ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका विद्युतीय सवारीसाधन (ईभी) को मूल्य घटाइएको छ। कम्पनीको ईभी युनिट टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीले ईभीको मूल्य भारु १ लाख २० हजार अर्थात करिब १ लाख ९२ हजार रुपैयाँसम्म घटेको जनाएको छ। भारतको कुल कार बिक्रीमा ईभीको हिस्सा करिब दुई प्रतिशत रहेको छ।
रोयटर्सको रिपोर्टले टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रमुख कमर्शियल अफिसर विवेक श्रीवात्सालाई उद्धृत गर्दै भन्यो, “ब्याट्री सेलको मूल्यमा आएको गिरावटका कारण हामीले यो लाभ सिधै ग्राहकहरूलाई दिने निर्णय गरेका छौं।”
कम्पनीको सबैभन्दा बढी बिक्री हुने नेक्सन ईभीको मूल्य करिब १.४ प्रतिशतले घटेर करिब भारु १४.५ लाख पुगेको छ। कम्पनीको सानो कार टियागोको मूल्य ७० हजार भारु ले घटेको छ। यसको बेस भेरियन्टको मूल्य अब ७.९९ लाख भारतीय रुपैयाँबाट सुरु हुनेछ। भर्खरै लन्च गरिएको पन्च ईभीको मूल्य करिब १२ लाख भारु छ।
पछिल्लो केही महिनामा अन्तर्राष्ट्रिय बजारमा ईभीको बिक्री घटेको छ। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना गाडीको मूल्य घटाएर बिक्री बढाउने प्रयास गरेको छ। टेस्लाले चीनको बीवाईडीबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
जनवरीमा टाटा मोटर्सको बिक्री वार्षिक आधारमा १२ प्रतिशतले बढेको छ। कम्पनीले गत महिना विद्युतीय सवारी (इभी) सहित ५४,०३३ युनिट बिक्री गरेको थियो। अघिल्लो वर्षको सोही अवधिमा यसको बिक्री ४८ हजार २८९ युनिट थियो।
ईभी सेग्मेन्टमा कम्पनीको वृद्धि वार्षिक आधारमा ६९ प्रतिशत रहेको छ। भर्खरै यसले पन्चको इलेक्ट्रिक संस्करण लन्च गर्यो। यो करिब ८५ प्रतिशत सेयरसहित भारतीय विद्युतीय कारको क्षेत्रमा पहिलो स्थानमा छ।
टाटाले मूल्य घटाएपनि नेपाली बजारमा भने अहिलेसम्म कुनै घटेको मूल्य सार्वजनिक गरिएको छैन्। कम्पनीका इभीहरु नेपाली बजारमा निकै लोकप्रिय रहेका छन्। विशेषगरी नेक्सन इभी नेपाली ग्राहकहरुले निकै रुचाएका छन्।
संभवत आगामी दिनमा नेपालमा पनि मूल्य घटेको घोषणा हुनसक्नेछ।
प्रकाशित: २ फाल्गुन २०८०, बुधबार