Technology Khabar २३ माघ २०८०, मंगलवार
काठमाडौं ।
यस वर्षको सुरक्षित इन्टरनेट दिवस वि.सं. २०८० माघ २३ गते मंगलबारका दिन नेपालमा र विश्वका १७० भन्दा बढी मुलुकमा मनाइँदैछ।
“राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” नाराकासाथ मनाइने यस दिवसले सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आआफ्ना जिम्मेवारी निर्वाह गराउन पैरवी गर्दछ ।
साथै, यसले सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सघसंस्था तथा अन्य सरोकारवालालाई एकजूट हुन आह्वान गर्दछ।
सन् २००४ देखि हरेक वर्ष फेब्रुवरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भएता पनि नेपालमा सन् २०१९ देखिँ मात्र चाइल्डसेफनेटको पहलमा यस दिवस मनाउन थालिएको हो । बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत विशिष्टिकृत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।
अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम संचालन गर्नका लागि सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन नेपालमा यसै वर्ष सुरक्षित इन्टरनेट दिवस समन्वय समिति गठन भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य–सचिवको अध्यक्षतामा गठित यस समन्वय समितिमा चाइल्डसेफनेटले सचिवालयको भूमिका निर्वाह गरेको छ।
सूचना प्रविधिको विकासले फड्को मारेसंगै यसले बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पनि छ । चाइल्डसेफनेट र युनिसेफको एक अध्ययनअनुसार नेपालमा पाँचजनामा एकजना बालिका र दशजनामा एकजना बालक अनलाइन यौन दुर्व्यवहारमा पर्ने जनाएको छ।
सुरक्षित इन्टरनेटको लागि सबै मिलेर काम गर्न आवश्यक भएको बताउँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, “प्रत्येक बालबालिकालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार छ । यो अधिकार सुनिश्चित गरेर बालबालिकालाई अनलाइनमा समेत सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी हो।”
बालबालिका र युवाले प्रविधिको प्रयोग धेरै गर्ने तर धेरै बालबालिकालाई अनलाइन सुरक्षाबारे ज्ञान नभएकोले इन्टरनेटको उनीहरू अनलाइन दुरव्यवहार र शोषण, साइबरबुलिङ्ग, साइबर ग्रूमिङ्ग, फिसिङ्ग र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पर्न सक्दछन्।
सुरक्षित इन्टरनेट दिवस माघ २३ गते मनाइने भएतापनि चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने जनाईएको छ।
प्रकाशित: २३ माघ २०८०, मंगलवार