
काठमाडौं ।
एप्पलको बारेमा सटिक विश्लेषण र भविश्यवाणी गर्ने विश्लेषक मिङ-ची कुओको पछिल्लो आपूर्ति श्रृंखला सर्वेक्षणले एप्पल सन् २०२४ को आईफोन ढुवानीको बारेमा त्यति आशावादी नभएको उल्लेख गरेको छ।
एप्पलले आपूर्तिकर्ताहरूसँगको सेमीकन्डक्टर कम्पोनेन्टहरूको अपस्ट्रीम १५ प्रतिशतसम्म घटाएको जनाइएको छ। साथै एप्पलले आफ्नो आईफोन १५ र आगामी आईफोन १६ सिरिजको सिपमेन्ट (ढुवानी) मा सन् २०२३ को सिपमेन्ट नम्बर्स (संख्या) को तुलनामा १०-१५ प्रतिशत गिरावट देख्ने कुओले उल्लेख गरेका छन्।
त्यसैगरी एप्पलले चीनमा पनि कमजोर बिक्रीको सामना गरिरहेको छ जहाँ साप्ताहिक ढुवानी वार्षिक आधारमा ३०–४० प्रतिशतले घटेको छ।
चीनका हाईइन्ड प्रयोगकर्ताहरूका लागि फोल्डेबल फोनहरू र जेनेरेटिभ एआई फिचर्स मुख्य बिक्री बिन्दुहरू भएको छ, जुन एप्पलले हाल प्रदान नगर्ने भएकाले यो निकै ठूलो कमजोरी भएको कुओले बताएका छन्।
त्यसका साथै एप्पलले सन् २०२५ सम्म आफ्नो आईफोनहरूमा कुनै ठूलो डिजाइन परिवर्तन वा जेनेरेटिभ एआई फिचर्सहरू नल्याउने भएकाले त्यसले सम्भवतः कम्पनीको ढुवानी गतिलाई अझ घटाउने कुओले विश्वास व्यक्त गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ माघ २०८०, शुक्रबार