संघीय संसदका सदस्यहरूको जानकारीसहित ‘नो योर पार्लियामेन्टेरियन’ नामक वेब एप्लिकेसन सार्वजनिक

Technology Khabar ९ माघ २०८०, मंगलवार

काठमाडौं ।

नेपाल, भारत, र पाकिस्तानका युवाहरुको एक समुहले नेपालको संघीय संसदका सदस्यहरूको जानकारी समाहित ‘नो योर पार्लियामेन्टेरियन (KYP)’ भन्ने एक वेब एप्लिकेसनको पहिलो संस्करण सार्वजनिक गरेको छ।

यो समुहले अकाउन्टबिलिटी ल्याब र ह्याककोरप्टसनले गत बैशाख र असारमा काठमाडौंमा आयोजना गरेको दक्षिण एसिया स्तरको ह्याकाथनबाट सिड फण्ड जितेको थियो।

केवाईपी वेब-स्क्रेपिङ प्रविधिबाट निर्मित गरिएको छ जसले भरपर्दा अनलाईन स्रोतहरुबाट आँफै संसद सदस्यहरुको जानकारी एकैठाउँमा उपलब्ध गराउन सक्छ।

‘हाम्रो उद्देश्य नेपालका संसद सदस्यहरूको भरपर्दो डाटाको प्रवेश-बिन्दु बनाउने हो । यस्तो प्रकारका अनुप्रयोगहरू अन्य दक्षिण एशियाली देशहरूमा जस्तै भारत र बंगलादेश उपलब्ध छन् तर नेपालको लागि नयाँ यो पहल हो’, नेपालबाट टोलीका एक सदस्य सुरेन्द्र कोइरालाले भने।

एप्लिकेसनले हाल प्रयोगकर्तालाई नेपालको निर्वाचन आयोग र संघीय संसदबाट उपलब्ध भएको जानकारी एकै ठाउँमा दिन्छ। जसमा प्रयोगकर्ताहरूले संसद सदस्यहरूले राजनीतिक दलहरू परिवर्तन गरेको वा चुनावका लागि संसदीय क्षेत्रहरूमा परिवर्तन गरेको पनि हेर्न पाउँछन ।

‘हामी अझै अन्य स्रोतहरु थप्ने छौ जसले संसद सदस्यहरुको बारेमा अन्य धेरै जानकारी संकलन गर्न सकिन्छ।’ भारतबाट टोलीका अर्का सदस्य परेस रावलले भने।

टोलीमा नेपाल, भारत, र पाकिस्तानबाटका सदस्यहरू छन् जसले राजनीतिमा पारदर्शिता र जवाफदेहीता सम्बन्धी समस्या र समाधानहरु आदान-प्रदान गर्नका लागि दक्षिण एसियाली क्षेत्रीय सहकार्यको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको बताईएको छ।

परेश रावल (भारत), सिद्रा साफी र आयेश अब्बासी (पाकिस्तान), र सुजन रेग्मी र सुरेन्द्र कोइराला (नेपाल) टोली सदस्यहरू हुन्।

प्रकाशित: ९ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया