सामसङको ग्यालेक्सी एस २४ सिरिज भारतको नोएडा स्थित कारखानामा निर्माण हुने

  • Technology Khabar | ७ माघ २०८०, आईतवार
सामसङको ग्यालेक्सी एस २४ सिरिज भारतको नोएडा स्थित कारखानामा निर्माण हुने

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले गत हप्ता ग्यालेक्सी एस २४ सिरिज लन्च गरेको थियो। यस श्रृंखलामा ग्यालेक्सी एस २४, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ अल्ट्रा समावेश छ।

यसैबीच कम्पनीले स्मार्टफोनको नयाँ श्रृंखला भारतको उत्तर प्रदेश राज्य स्थित नोएडाको कारखानामा उत्पादन गरिने घोषणा गरेको छ। यी स्मार्टफोनको स्वदेशमा बिक्रीसँगै विदेशमा निर्यात पनि हुने बताईएको छ।

सामसङको भारत इकाईका अध्यक्ष तथा सीईओ जेबी पार्कले अमेरिकामा आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस २४ सिरिज भारतमै उत्पादन हुने बताएका थिए। भारतको मागको ठूलो हिस्सा कम्पनीको नोएडा कारखानाबाट पूरा हुन्छ।

गत वर्ष लन्च गरिएको सामसङ ग्यालेक्सी एस २३ सिरिज पनि यही कारखानामा निर्माण गरिएको थियो। अमेरिकी प्रविधि कम्पनी गुगलले पनि चाँडै नै आफ्नो फ्ल्यागशिप पिक्सेल ८ स्मार्टफोन भारतमै निर्माण गर्ने तयारी गरिरहेको छ। भारतीय बजारमा सामसङको नयाँ सिरिजको सुरुवाती मूल्य भारु ७९,९९९ रहेको छ।

स्मरण रहोस् सामसङले नेपाली बजारमा पनि आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २४ सिरिजको प्रि बुकिङ्ग शुरु गरेको छ। नेपालमा एस २४ सिरिजको शुरुवाती मूल्य ११९,९९९ रुपैयाँदेखि रहेको छ।

प्रकाशित: ७ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...