
काठमाडौं ।
एप्पलको प्रख्यात आपूर्तिकर्ताको रुपमा परिचित रहेको फक्सकनले अब इलेक्ट्रिक भेहिकल (ईभी) बजारमा प्रवेश गरेर रणनीतिक परिवर्तन गर्दैछ।चीनको झेङ्गझाउमा केन्द्रित कम्पनीको यो कदम स्मार्टफोन र कन्जुमर इलेक्ट्रोनिक्सको घट्दो मागको प्रतिक्रिया भएको उल्लेख छ।
इलेक्ट्रिक कारहरूमा ध्यान केन्द्रित गर्दै फक्सकनले जनवरी महिनामा ‘फक्सकन न्यू इनर्जी अटोमोबाइल इण्डस्ट्री डेभलपमेन्ट (हेनान) कम्पनी’ नामक नयाँ फर्म स्थापना गरेको छ। साथै यो पहल कम्पनीको पोर्टफोलियो विविधीकरण गर्ने मात्र नभएर बढ्दो ईभी बजारको हिस्सा कब्जा गर्ने बारे पनि भएको उल्लेख छ।
त्यसैगरी कम्पनीको यो उद्यमले म्यानुफ्याक्चरिङ्ग कम्पोनेन्टस, डेभलपिङ्ग मोटर्स (मोटरहरू विकास गर्ने) र न्यू इनर्जी भेहिकल्स (नयाँ ऊर्जा सवारी साधनहरू) बिक्री जस्ता कार उत्पादनका विभिन्न पक्षहरूमा अध्ययन गर्नेछ।
परम्परागत रूपमा इलेक्ट्रोनिक्स निर्माणमा आफ्नो भूमिकाको लागि परिचित रहेको फक्सकनको लागि यो कदम निकै महत्त्वपूर्ण हो। ताइवानी जायन्टको सन् २०२३ को राजस्वमा अघिल्लो वर्षको तुलनामा गिरावट देखिएको छ, यसले अटोमोटिभ क्षेत्रतर्फ यो कदम चाल्न प्रेरित गरेको छ। कम्पनीले इलेक्ट्रिक कार्गो भ्यान यस अघि नै प्रस्तुत गरिसकेको छ भने कम्प्याक्ट एसयूभीको लागि योजना तयार पर्दै ईभी स्पेसमा आफ्नो गम्भीर योजनाहरूको संकेत गरेको उल्लेख छ।
त्यसका साथै ईभी क्षेत्रमा फक्सकनको लगानीले उद्योगमा प्रभाव पार्न सक्ने जनाइएको छ भने यसले विद्युतीय सवारी साधन प्रविधि र उत्पादनमा आविष्कारहरू निम्त्याउन सक्ने सम्भावना रहेको छ।
प्रकाशित: २८ पुष २०८०, शनिबार